जब ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाइन.....

मंगलबार, जेठ २०, २०८२

दार्चुला । सदरमुकाम खलंगासम्म आवतजावत गर्न नसक्ने व्यास गाउँपालिकाका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर  नागरिकता प्रदान गरिएको छ। 

Honor x7 pad

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो। व्यास वडा नम्बर ६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, ‘घरमै नागरिकता पाउँदा खुसी लागेको छ।’

जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरूलाई पायक पर्ने स्थानमै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए। 

टोलीले व्यास –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो। नागरिकता पाउनेमा एक सय ३८ ज्येष्ठ नागरिक, दुई जना अपांगता भएका व्यक्ति रहेको थिए  । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत एक सय ९७ ज्येष्ठ नागरिक र पाँच जना अपांगता भएका व्यक्ति छन्।

व्यास गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए। सदरमुकाम खलंगासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो।

गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडामात्र एक हजार लाग्छ भने आवतजावत गर्न कम्तीमा तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताए। रासस।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्