सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख (मेयर) पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा कोहलपुरमा आयोजित पाँच दिने एकीकृत पाठ्यक्रममा आधारित कष्टमाइज्ड तालिम एवम् बहुकक्षा बहुस्तर शिक्षण सिकाई अभिमुखीकरण कार्यक्रमको सोमवार समापन गर्दै उनले विद्यालयको गुणस्तर सुधारको योजना लिएर आउने विद्यालयलाई खाली हात नफर्काइएको बताए । उनले भने–‘हाम्रो पहिलो प्राथमिकता शिक्षा हो । बिद्यालयको गुणस्तर सुधारमा योजना लिएरर आउने विद्यालयलाई खाली हात फर्काएका छैनौं ।’
उनले प्राप्त तालिमबाट सिकेको सीप र ज्ञानलाई विद्यालयमा उपयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी गराउन पनि निर्देशन दिए । उनले भने–‘नतिजा सुधारमा प्रभाव पार्ने गरी काम गर्नुहोस् । स्थानीय सरकारबाट शैक्षिक सामग्रीको अभाव हुनेछैन ।’ कक्षा १ देखि ३ सम्ममा अध्ययन गर्ने ६० जना शिक्षकहरुलाई बहुकक्षा बहुस्तर शिक्षण सिकाईको आवश्यकता, प्रभावकारिता र कार्यान्वयनका विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो । त्यसक्रममा शिक्षकहरुले शैक्षिक सामग्रीको अभावले कक्षा व्यवस्थापनमा चुनौती रहेको बताएका थिए ।
नगर प्रमुख आचार्यले शैक्षिक विकासमार्फत चेतनाको स्तर उकास्ने अभियानमा स्थानीय सरकार लागिपरेकाले बालबालिकाहरुको सिकाई उपलब्धि हासिल हुने गरी शिक्षण सिकाई विधि अवलम्वन गर्न आग्रह गरेका हुन् । शिक्षकहरुलाई पाठ्यक्रमसंगै बाहिरका बिषयमा पनि अभ्यस्त बनाउन आवश्यक रहेकाले पालिकाले नियमित तालिम प्रदान गरिने प्रतिवद्धता जनाए । कक्षा कोठा व्यवस्थित गर्ने मात्र नभएर समाजलाई व्यवस्थित गर्ने गरी योजना बनाएर अघि बढ्न पनि नगर प्रमुख आचार्यले निर्देशन दिए ।
नगर उपप्रमुख संगिता सुवेदीले पनि तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा कार्यान्वयन गर्न सुझाव दिइन् । शैक्षिक हब बनाउने कोहलपुर नगरपालिकाको अभियानलाई सार्थक बनाउने दायित्व शिक्षकहरुको पनि भएको भन्दै उनले बालबालिकालाई बिद्यालय आउन उत्साही बनाउन सुझाव दिइन् । यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले आफ्नो विद्यालयलाई असल बनाउने दायित्व शिक्षकको भएको बताए ।
तालिमबाट प्राप्त उर्जालाई सदुपयोग गर्न उनको सुझाव थियो । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षदेखि बहु कक्षा बहुस्तर ९एमजिएमएल० कार्यान्वयनमा ल्याउन लागेको शिक्षा शाखाका शाखा अधिकृत रविलाल मिजारले बताए । सोही अनुरुप चालू आर्थिक वर्षमा ६ लाख ७८ हजारको लागतमा तालिम प्रदान गरिएको उनको भनाई छ । तालिममा सहभागी शिक्षकहरुले प्राप्त सीप र ज्ञानलाई आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका छन् ।
तालिम समापनमा जर्मन नेपाल सहयोग संघका शिक्षा कार्यक्रम संयोजक समेत रहेका प्रशिक्षक चन्द्र कुमार शर्मा, सहभागीहरुका तर्फबाट शिक्षकहरु कुश्मा भट्टराई र पुर्णिमा शर्माले अनुभव राखेका थिए । तालिममा शर्मासँगै ठाकुर प्रसाद पौडेल र केदार देउलाले प्रशिक्षण दिएका थिए ।