नरैनापुरका साढे ३ सय घर-परिवारलाई लालपुर्जा वितरण

मंगलबार, जेठ २०, २०८२
honor २२ sept

नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका स्थानीयलाई जग्गाधनी प्रमाणपत्र दिएको छ। गाउँपालिकाको वडा नं.३ मा वर्षौ देखि गाँउ ब्लकमा बसोबास गर्दै आएका ३ सय ५० घरपरिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको हो।

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँ ब्लक मानिँदै आएको छ । गाउँ ब्लक भित्र पर्ने जग्गामा वर्षौ देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौं देखि भोग चलन गर्दै आएपनि लालपुर्जा नपाएका स्थानीयलाई कानुनी रिट पु¥याएर लालपुर्जा दिईएको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताए। उनले भने,“घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, ।”

विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले बताए ।

घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग बाँकेको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले जानकारी दिएका छन् ।

नापी कार्यालय बाँकेका प्रमुख नापी अधिकृत गणेश्वर यादवले गाउँ ब्लकको नापजाँच निरन्तर भए पनि पुर्जा वितरण हुन नसकेको उल्लेख गर्दै अहिले धमाधम धनीपुर्जा वितरण गरिएको जानकारी दिए । उनले गाउँ ब्लकको जग्गा नापजाँच, दर्ता र पुर्जा वितरण गर्नुपर्ने भए पनि पुर्जा वितरण हुन नसकेकोमा यो कामलाई छिटै पूरा गर्ने गरी अगाडि बढाइएको स्पष्ट पारेका छन् । उनले भने, “वर्षौंदेखि रोकिएको समस्या थियो । आफ्नै जमिन हुँदाहुँदै पनि भूमिहीनजस्तो भएर बस्नुपर्ने अवस्थाबाट नागरिकलाई मुक्ति मिलेको छ ।” 

पुर्जा बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्