करण केसीको उत्कृष्ट ब्याटिङले नेपालले स्क्टल्याण्डलाई हरायो

मंगलबार, जेठ २०, २०८२

काठमाडौँ । करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको चौथो राउन्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई १ पराजित गर्दै विजयी सुरुवात गरेको छ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटको झिनो अन्तरले पराजित गरेको हो। २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

नेपालको जितमा करण केसी नायक बने। उनले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे। यस्तै, ओपनर कुशल भुर्तेलले पनि ४४ बलमा ११ चौकासहित ५३ रन जोड्दै अर्धशतकीय पारी खेले। कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। आसिफले ३३ बलमा २ चौकाको सहयोगमा २० रन बनाए।

मध्यक्रममा गुलशन झाले ३० बलमा ३ चौका र ३ छक्कासहित ४२ रनको महत्वपूर्ण योगदान दिए भने भीम सार्कीले ४८ बलमा ३ चौकासहित ४० रन बनाए। कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए।

बलिङतर्फ स्कटल्याण्डका लागि ब्रेन्डन मक्कमलानले ३ विकेट लिए भने माइकल लिस्क र ज्याक जार्भिसले समान २-२ विकेट हात पारे। जसपर डेभिडसनले १ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल तयार पारेको थियो। स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे। यस्तै, फेन्ली म्याक्रिथले ६७ बलमा ५५ रन र कप्तान रिची बेरिङ्टनले ४६ बलमा ४० रनको योगदान दिएका थिए।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।

नेपालले अब त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेदरल्यान्डससँग यही जेठ २२ गते  खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्