मानवीय सेवा:डुडुवा गाउँपालिकाद्वारा दुई सेवा आश्रमलाई सहयोग

शनिबार, जेठ १७, २०८२

बाँके। मानवीय सेवा अन्तर्गत डुडुवा गाउँपालिकाले नेपालगञ्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर पालिकाले  मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराएको छ । 

पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, विस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्याग सहितको शैक्षिक सामग्री प्रदान गरेको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । अध्यक्ष चौधरी र उपाध्यक्ष साइदा बानोले दुबै आश्रममा पुगेर उक्त सामग्री हस्तान्तरण गरे । 

सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढाईमा सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए । उनले आश्रममा रहेका बृद्धहरुको अवस्था निकै दयनीय तथा दुःखदायी रहेकाले मानव सेवाको भावनाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै पालिकाले आश्रमलाई आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । 

अध्यक्ष चौधरीले निल सागर सेवा आश्रमद्वारा निर्माणाधिन भवनमा एक कोठे भवन बनाउने र केही पंखा लगायतका सामग्री थप सहयोग गर्ने घोषणा गरे । पालिकाले यस वर्ष गणतन्त्र दिवसलाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्