सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। राप्तीसोनारी गाउँपालिकामा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना एवम् राप्तीसोनारी गाउँपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिम जेठ १४ गते सुरु भएको थियो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले पत्रकारिता सशक्त र जिम्मेवार पेशा भएको भन्दै यसले समाजलाई सही दिशा निर्देश गर्नुपर्नेमा जोड दिए । सहभागी प्रशिक्षार्थीहरुलाई तालिम सिकेर पत्रकारितातर्फको यात्रा प्रारम्भ भएको बताउँदै उनले सक्षम र अनुशासित ढंगले अघि बढ्न आग्रह गरे । आफ्नो गाउँठाउँको विषयबस्तुलाई सही ढंगले उठान गर्नुपर्नेमा उनले जोड समेत दिए । अध्यक्ष पौडेलले अर्को बर्ष नेपाल पत्रकार महासंघसंगको सहकार्यमा एड्भान्स्ड तालिम आयोजना गर्ने पनि बताए । उनले पालिकाको सञ्चार नीति निर्मााण गर्नका लागि आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उपाध्यक्ष मनिषा सिंह थारुले सिकेको सीप र ज्ञानलाई ब्यबहारमा लागू गर्न आग्रह गर्दै मर्यादित पत्रकारिता अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् । अफबाह फैलाउने नभई सत्यतथ्य प्रसारका लागि पत्रकारहरु गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नयाँ पुस्तामा पत्रकारिताको भोक जगाउन आधारभूत तालिमले भूमिका खेल्ने बताए । उनले पत्रकारिताप्रति रुची भएका नव युवाहरुका लागि तालिमले सही मार्ग निर्देशन प्रदान गर्ने विश्वास ब्यक्त गरे । गिरीले आगामी नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन गाउँपालिकालाई आग्रह पनि गरे । तालिम आयोजना गर्न सहयोग गर्ने राप्तीसोनारी गाउँपालिका तथा सहजीकरण गर्ने प्रशिक्षक, प्रशिक्षार्थी लगायतलाई उनले धन्यवाद ज्ञापन गरे।
तालिममा राप्तीसोनारीका ९ वटै वडाबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले बताए । प्रशिक्षार्थीहरुलाई अध्यक्ष पौडेल र उपाध्यक्ष थारुले प्रामाणपत्र प्रदान गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेको तर्फबाट अध्यक्ष गिरीले गाउँपालिकालाई मायाको चिनो प्रदान गरेका थिए । तालिममा पत्रकारहरु शंकर प्रसाद खनाल, प्रियास्मृति ढकाल, अर्जुन ओली, कमल डाँगी, विमला चौधरी र सावित्रि गिरीले सहजीकरण गरेका थिए।