सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबैभन्दा राम्रो व्यवस्था भए पनि त्यसको जनताले अझै अनुभूति गर्न नसकेको बताएका छन् ।
सहभागीहरुले सम्पूर्ण नेपाली जनताहरुलाई अनुभूति हुने गरी सम्पूर्ण सेवा, पहुँच तथा सहभागिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष चौधरीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने भन्दै ग्रामिण क्षेत्रका नागरिकहरुलाई गणतन्त्रबारे ज्ञान समेत नभएको अवस्था रहेको बताए ।
कार्यक्रममा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, पत्रकार राकेश कुमार मिश्र लगायतले सङ्गीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबारे चर्चा गर्दै राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । मुलुकमा गौरवमय परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरेका थिए ।