सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । राप्तीसोनारी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा आजदेखि तीन दिने तालिम सुरु भएको महासंघका सचिव कृष्ण ओलीले जानकारी दिए।
तालिमको सुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले मुलुक परिवर्तनमा नेपाली पत्रकारिताहरुको योगदान महत्वपूर्ण रहेको बताए । यो तालिमले स्थानीय सरकारको सुशासन र जवाफदेहिता बढाउन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
उनले चौतर्फी नकारात्मक प्रवृत्ति बढिरहेका बेला पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाहका लागि भूमिका खेल्न पनि आग्रह गरे । पछिल्लो समय नकारात्मक प्रवृत्तिको पीडा जनप्रतिनिधिले खेप्दै आएको पनि उनले गुनासो सुनाए । उनले तथ्यपरक आलोचना गर्न सुझाव दिए । तर, पूर्वाग्रही भएर आलोचना गर्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने उनले बताए । उनले आगामी आर्थिक वर्षका लागि सञ्चार नीतिका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पालिकाले गर्दै आएका सकारात्मक कामहरुलाई पनि मिडियामार्फत प्रचार गरिदिन आग्रह गरिन् । उनले नकारात्मक कुरा मात्र नभएर सकारात्मक कुराहरु पनि मिडियाहरुले उठाउनुपर्ने सुझाव दिइन् । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले पत्रकारिताका माध्यमबाट राप्तीसोनारीको पहिचानमा सघाउन आग्रह गरे । वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले सुशासन र विकासका लागि पत्रकारिता आवश्यक रहेको बताए । उनले पत्रकारिताका माध्यमबाट सत्यतथ्य कुराहरु बाहिर ल्याउन पनि आग्रह गरे । आधारभूत तालिम सिकेर त्यसलाई व्यवहारिक जीवनमा लागू गर्न पनि आग्रह गरे । त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष मिन कुमार थारुले सीप सिक्न पाउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए । उनले क्षमता अभिवृद्धिका लागि पैसासँग तुलना गर्न नहुने भन्दै प्राप्त सीपलाई व्यवहारमा उतार्ने गरी लाग्न सुझाव दिए।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थानीय तहमा पत्रकारहरुको उत्पादनमा जोड दिएर आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको बताए । उनले तालिममा सहभागीहरुलाई नागरिक पत्रकारिताको माध्यमबाट पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने पनि बताए । उनले पत्रकारिताको सीप सिकेर मर्यादित पत्रकारिताको अपेक्षा समेत गरे।
उनले स्थानीय सञ्चार नीति निर्माण गर्न पालिकासँग आग्रह गरे । पहिलो दिन पत्रकार शंकर खनाल र अर्जुन ओलीले प्रशिक्षण दिएका छन् ।