नरैनापुर गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मंगलबार, जेठ १३, २०८२

नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै ६ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई पनि आज दिगोपना घोषणा गरिएको हो ।

नरैनापुर गाउँपालिकामा १ हजार ५२ जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १५५ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ । उनीहरू सबैले पाउनुपर्ने खोप पाइसकेपछि नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष एवं पालिकाका कार्यवाहक अध्यक्ष प्रेम मौर्यले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख चौधरीले नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष एवं पालिकाका कार्यवाहक अध्यक्ष मौर्यलाई हस्तान्तरण गरेका हुन्  । सो अवसरमा पालिकाका कार्यवाहक अध्यक्ष मौर्यले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताएका थिए। 

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाह लगायत सरोकारवालाको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्