सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण गर्न सुरु गरेको छ । यस बर्षदेखि पालिका आफैंले बीउ तयार गरेर वितरण गर्न सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।
समूह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ विक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माले बताए । उनका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत अनुदानमा वितरण गरिएको हो । ८० क्विन्टल मूल बीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परीक्षण गराई उत्पादनका आधारमा थप मूल बीउ किसानसंग पालिकाले खरिद गरी प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताए । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।
यो वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादन बृद्धि गर्ने पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यस वर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । करीब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएकोले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए । उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भइरहेको बताए ।
किसानलाई पालिकाले आफैंले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्ने लगायत सुविधा भएको छ । डुडुवामा करीब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकोले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए । उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए ।
डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ मा सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ।