'लु' को जोखिम न्यूनीकरणका लागि नेपालगन्जमा परामर्श गोष्ठी

मंगलबार, जेठ १३, २०८२

बाँके तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्व कार्यलाई संस्थागत गर्न क्षमता चुनौती र अवसरहरुको आँकलन गर्ने सन्दर्भमा सरोकारवालाहरुको परामर्श गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको अगुवाईमा तयार हुन लागेको मार्ग चित्रमा यसअघि कार्यक्रम संचालन गरिएका सहरहरु विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गरी गोष्ठीबाट आएका सुझावहरुलाई समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, उर्जा, सिंचाई, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) बाट भएको असर र आगमी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव लिइएको छ । 

नेपालगंज सहर र आसपासका बस्तीहरुमा ट्युवेलबाट पानी आउन छोड्दै गरेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोटविरुवा विनास भइरहेको, जाथाभावी समरसेल बोरिङ्ग जडान भएको, भवन र सडक वातावरणमैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आइरहेको, दिनप्रतिदिन तापक्रम बृद्धि भइरहेको र चिसो घट्दै गएको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनुका साथै मृत्यु समेत भएको तथ्य सरोकारवालाहरुले औंल्याएका थिए । 

नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगंजको केही वडाहरुमा नमूनाका रुपमा तातो हावा (लु) लहर जोखिम न्यूनीकरणका गतिविधि संचालन भएको बताउँदै मन्त्रालयबाट प्राप्त हुने बजेट सशर्त हुने भएका कारण चाहेर पनि (लु) सम्बन्धि गतिविधिहरु व्यापक गर्न नसकेको उल्लेख गरे । 

नेपालगंज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले तातो हावाको लहरबाट बच्नका लागि नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा प्रचारप्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रंगले पेन्टिङ्ग गरिएको र बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण कार्य जारी रहेको लगायत गतिविधि संचालन हुँदै आएको बताए ।

अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम संचालन भइरहेको छ । गोष्ठीमा फोरम फर इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट काठमाण्डौका प्रमुख बुद्धि कुमालले सहजीकरण गरेका थिए । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्द्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, नेपालगंज उपमहानगरपालिका विपद् शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघ विपद व्यवस्थापन संयोजक टिकामणि उपाध्याय, विषयगत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रेडक्रस बाँके शाखाका उपनिर्देशक दोलख बहादुर डाँगीले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्