प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

सोमबार, जेठ १२, २०८२

बाँके । जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८०–०८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ ।

Honor x5c

बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् । त्यस्तै यस आर्थिक वर्ष २०८१–०८२ मा जम्मा २० वटा मुद्दा मध्ये १२ वटा मुद्दा फछ्र्यौट भएका छन् । बाँकी ८ वटा मुद्दा पनि फछ्र्यौटकै तयारीमा रहेको न्यायिक शाखाले जनाएको छ ।

न्यायिक शाखाका प्रमुख जित बहादुर श्रेष्ठका अनुसार ऐलानी पर्ति जग्गामा निर्माणाधिन टहरा हटाई पाउँ, जग्गा सम्बन्धि किचलो, श्रीमान श्रीमतीको झगडा, रुखहरुले एक अर्काका जग्गामा असर पारेका विषय बढी आउने गरेका छन् । न्यायिक समितिले दुबै पक्षलाई राखेर आपसी सहमतिमा विबाद मिलाई पठाउने गरेको छ । समितिले गरेको कामबाट आफूहरु पनि सन्तुष्ट रहेको स्थानीयबासी गुन्जार अली बागवान र अब्दुल रफिक बागवान बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ मा भएको व्यवस्था अनुसार न्यायिक समितिबाट फैसला हुने र बाँकी मेलमिलापबाट फछ्र्यौट गरिने न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रामप्यारी यादवको भनाई छ  ।

गाउँपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई विभिन्न जिल्लाको भ्रमण गराई उनीहरुको लागि पुनर्ताजकीय तालिम दिई गाउँपालिकामा आएका समस्या तथा विभिन्न किसिमका मुद्दाहरुको कसरी समाधान गर्ने भन्ने विषयमा समय(समयमा प्रशिक्षण समेत गराउँदै आएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्