तुलसीपुरमा कोठामा अचेत फेला परेका दुई किशोरीको मृत्यु

शुक्रबार, जेठ ९, २०८२

तुलसीपुर । दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

सल्यानको बागचौर नगरपालिका-११ बाँफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका- ७ गैरापातुमा भाडामा बस्दै आएका १८ बर्षीया दिपु परियार र १७ बर्षीया दिपा परियार गए राति सवा ९ बजे अचेत अवस्थामा फेला परे पछि प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

सुरुमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार संभव नभएपछि दुबै जनालाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञानमा पुर्‍याइएको थियो ।

घोराहीमा गए राति पौने १२ बजेतिर दिपु परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।

घोराहीमा पनि उपचार संभव नभएपछि दिपा परियारलाई आज बिहान साढे २ बजेतिर बाँकेस्थित नेपालगञ्ज नरिसिंह होममा पुर्‍याइएको थियो । उनलाई पनि उपचारका क्रममा बिहान पौने ४ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रानाले बताए ।

दिपा नाताले दिदी बहिनी हुन । दिपुको मामाको छोरी हुन ।मृतक दुबै जना कक्षा ११ मा अध्यनरत विद्यार्थी रहेको खुलेको छ । दीपाले शान्तिनगर गाउँपालिका-२ स्थित जनकल्यान माविमा र दिपुले घोराहीको एक विद्यालयमा कक्षा ११ मा अध्यन गर्ने गर्थिन ।

दिपु बिहीबार दिउँसो मात्रै घोराहीबाट दिपाको कोठामा आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।उनीहरुले पहिचान हुन नसकेको बिषादी सेवन गरेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्