नेपालगञ्ज उपमहानगरका विद्यालयमा विपद् सुरक्षा योजना तयार हुँदै

शुक्रबार, जेठ ३, २०८२

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउन थालिएको छ नेपालगञ्ज उपमहानगरपालिकाले नगरका ३० वटा विद्यालय छनौट गरेर बृहत् विद्यालय सुरक्षा सम्बन्धि विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार गर्ने नीति लिएको हो। 

जस अनुरुप फोकल शिक्षकहरुको दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । 

 नेपालगञ्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिर प्रताप सिंहले विपदजन्य जोखिम न्यूनीकरणमा विद्यालयहरुलाई सबल र सक्षम बनाउन प्रशिक्षण कार्यक्रम सफल हुने विश्वास ब्यक्त गरेका छन्  । शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले विपदमा विद्यालयले अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे फोकल शिक्षकहरुले आर्जन गरेको ज्ञान र सीप विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनमा उपयोगी हुने बताए । प्रशिक्षक एवम् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का सुशिल पण्डितले भूकम्प लगायत अन्य विपदका घटनाहरुमा विद्यालयले ध्यान दिनुपर्ने र पूर्व तयारी गर्नुपर्ने विषयहरुमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए । 

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिृकत रुपन ज्ञवालीका अनुसार तालिमबाट फोकल शिक्षकहरुले भूकम्प, आगलागी लगायत विपद व्यवस्थापनबारे जानकारी हासिल गर्नेछन् । आफूले हासिल गरेको ज्ञान र सीपका आधारमा योजना बनाई शिक्षा महाशाखामा पेश गर्नेछन् । ज्ञवालीका अनुसार बृहत् विद्यालय सुरक्षा सम्बन्धि योजना तयार गर्ने तथा विद्यालयमा सचेतना प्रबद्र्धन गर्ने उद्देश्य प्रशिक्षण कार्यक्रमको छ ।

शिक्षा महाशाखाका शिक्षा अधिकृत डिल्ली आचार्यले पहिलो चरणमा फोकल शिक्षक र दोस्रो चरणमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई पनि प्रशिक्षण दिइनेछ । सुपरका राजु अधिकारीले विद्यालय केन्द्रित विपद सुरक्षा योजना निर्माणमा प्राविधिक सहयोग गरेको बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्