डुडुवा गाउँपालिकामा अनलाइन घरधुरी सर्भेक्षण शुरु

बुधबार, जेठ १, २०८२

बाँके । डुडुवा गाउँपालिकाले अनलाइन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाइन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पूर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो ।

जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पूर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । उनले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाइन गरेर स्थानीयका समस्या तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताए । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पूर्ण तथ्यांक विवरण अनलाइन प्रणालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताए । 

पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पूर्ण विवरण संकलन गर्ने गरी खटाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयले बताए । सर्भेक्षणमा विशेषगरी व्यक्तिगत, संस्थागत र व्यवसायिक विवरण अन्तर्गतका सूचनाहरु संकलन गरिने सूचना प्रविधि अधिकृत सुरेश कुमार बर्माले बताए ।

उनले विवरण संकलनकर्तालाई तालिम दिएर मोबाइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तिको प्रोफाइल तयार गरिने बताए । डुडुवामा रहेका १० हजार घरधुरीको विवरण संकलन गरिनेछ । पालिकाले घरधुरी सर्भेक्षकलाई दुई दिनको तालिम दिएको छ ।

प्रयोगात्मक तालिममा विज्ञ परामर्शदाता त्रिलोचन भुषाल र सर्वज्ञ श्रेष्ठले अनलाइन सफ्टवेयरका बारेमा जानकारी गराएका थिए । अनलाइन सर्भेक्षणले व्यक्तिगत, संस्थागत, व्यवसायिक, शिक्षा, स्वास्थ्य कृषि लगायत सम्पूर्ण विवरण तयार हुनेछ । 

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्