राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बुधबार, जेठ १, २०८२

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै ९ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका १ हजार ३९९ जना बालबालिका रहेका छन् । त्यसैगरी ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १२ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ । उनीहरु सबैले पाउनुपर्ने खोप पाइसकेपछि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

पालिका अध्यक्ष पौडेलले कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताए । उनले स्वस्थ बच्चा जन्मिए मात्र मुलुक समृद्ध हुने बताए । उनले लगानीको प्राथमिकता निर्धारण गर्न पनि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए। शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकता रहेको पनि पालिका अध्यक्ष पौडेलले बताए । पूर्वाधारमा मात्रै लगानी गरेर अर्थ नहुने भन्दै स्वस्थ जनशक्ति नभए त्यसको अर्थ नहुने पनि उनले प्रष्ट पारे । उनले स्वाास्थ्य संवेदनशील रहेकाले त्यसै अनुसार काम गर्नुको विकल्प नभएको बताए ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले सबैको सहयोगका कारण पालिकालाई दिगोपना घोषणा सम्भव भएको बताइन् । उनले खोप सुनिश्चितताका लागि महिला स्वयंसेविकाहरुले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको बताइन् । उनले खोपमा सबै बालबालिकाहरुको सहज खोपका लागि खोप केन्द्र बिस्तारमा ध्यान दिइने पनि बिश्वास दिलाइन् । उनले खोप केन्द्रलाई आवश्यक बजेटको समेत प्रबन्ध गरिने प्रतिवद्वता जनाइन् । पालिका उपाध्यक्ष थारुले पालिकाको समग्र स्वास्थ्यप्रति पालिका सचेत रहेको बताइन् ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले खोप नियमित अभियान भएकाले यसलाई दिगोपना सुनिश्चित गर्ने काम भइरहेको बताए । उनले खोप अभियानलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । खोपलाई सबैको पहुँचमा केन्द्रित गर्ने गरी काम गरिने प्रतिवद्धता जनाए ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले खोपजन्य रोगबाट जोगाउनका लागि खोप कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । उनले १४ ओटा विभिन्न रोगहरुबाट जोगाउनका लागि बालबालिकालाई ९ प्रकारका खोप दिने गरिएको जानकारी दिए । उनले सबै बालबालिकाले खोप लगाइसकेपछि प्रत्येक वर्ष खोप सुनिश्चित गर्ने गरिएको जानकारी दिए । राप्तीसोनारी गाउँपालिकासहित अहिलेसम्म बाँकेका ८ ओटा पालिका मध्ये ६ ओटा पालिकालाई खोप सुनिश्चित घोषणा गरिसकेको जानकारी दिए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा अध्यक्षहरुको तर्फबाट राप्तीसोनारी गाउँपालिका ९ का वडा अध्यक्ष सोहनलाल थारु, राजनीतिक दलको तर्फबाट एमालेका तुल्सीराम चौधरी, कार्यपालिका सदस्यहरुको तर्फबाट केशव दमाई, स्वास्थ्यकर्मीका तर्फबाट राप्तीसोनारी गाउँपालिका १ स्थित कुसुम स्वास्थ्य चौकीका प्रमुख शंकर बहादुर डाँगी, स्वयंसेविकाको तर्फबाट फूल कुमारी थारु लगायतले बोलेका थिए ।

घोषणा कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, बिश्व स्वास्थ्य संगठनका खोप अधिकृत आशा चौधरी, स्वास्थ्य कार्यालय बाँकेका चेन कोल्ड अधिकृत जनकलाल गिरी, सिअहेव अधिकृत सिताराम चौधरी, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र बहादुर केसीले गरेका थिए । 

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्