सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेकपा एमाले शिक्षा तथा मानव श्रोत विभाग बाँकेले शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै स्थानीय पालिकाहरुलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
विभागले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८२-०८३ का लागि बजेट विनियोजन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको हो । मंगलवार कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाउँदै विभागले उक्त माग गरेको हो ।
विभागका बाँके अध्यक्ष सूर्य बहादुर रोकायले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय पालिकालाई ध्यानाकर्षण गराइएको जानकारी दिए । विद्यालयमा पर्याप्त स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन हुनुपर्ने, फर्निचर तथा खेल सामग्रीको व्यवस्थापन, टिनको पाता विस्थापन गरेर जिप्सन प्रयोग गर्नुपर्ने, विपद जोखिम न्यूनीकरणमा प्राथमिकता तथा पर्याप्त खेल मैदानको व्यवस्थापनमा बजेट छुट्ट्याउन ध्यानाकर्षण गराइएको अध्यक्ष रोकायले बताए ।
यसैगरी शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा लागू गर्दै निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्न विद्यालय संचालन तथा व्यवस्थापन खर्च अनुदान दिनुपर्ने, अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुलाई पर्याप्त तालिमको व्यवस्थापन गर्नुपर्ने, विषयगत, तहगत तथा विद्यार्थीको अनुपातमा शिक्षकहरुको व्यवस्थापन गरिनुपर्ने माग अघि सारिएको उनको भनाई छ ।
सरकारी विद्यालयमा प्रविधिमा आधारित शिक्षाको व्यवस्थापन गर्न पनि ध्यानाकर्षणपत्रमा माग गरिएको उनले बताए । ध्यानाकर्षणपत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले विभागले महत्वपूर्ण विषय सही समयमा उठाएको भन्दै धन्यवाद दिए । उनले पालिकाले शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा प्राथमिकता दिएको बताए ।
यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पनि बजेट तथा नीति निर्माण गर्दा विभागले उठाएका उचित विषयहरुलाई समेटिने प्रतिवद्धता जनाए । विभागले यसअघि नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।