पर्यटकको संख्या दोब्बर बनाउन 'घुमौं सौराहा चितवन' अभियान

सोमबार, वैशाख २९, २०८२

नेपालगञ्ज । होटल व्यवसायीहरुले घुमौं सौराहा चितवन अभियान थालेका छन् । पश्चिम नेपालका प्रमुख सहरहरुमा अन्तरक्रिया र भेटघाट गर्दै हिँडेका होटल ब्यवसायीले घुमौं सौराहा चितवन अभियान थालेका हुन् ।

यसैक्रममा नेपालगञ्ज आइपुगेको क्षेत्रीय होटल संघ नेपाल चितवनले अभियानबारे सरोकारवालालाई जानकारी गराएको छ । सौराहालाई ब्राण्डिंग गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले घुमौं सौराहा चितवन अभियानलाई अघि बढाइएको हो । वि।सं। २०७७ साल पुस महिनादेखि सुरु भएको यो अभियान कोरोना कालपछि स्थगित भएको थियो।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पश्चिम नेपालका मुख्य सहरहरुमा अन्तरक्रिया गरिएको अध्यक्ष ओम प्रकाश पाण्डेले बताए । मुलुककै प्रमुख तेस्रो पर्यटकीय गन्तब्य स्थलका रुपमा परिचित सौराहामा पर्यटकको संख्या दोब्बर बनाउने उद्देश्यका साथ घुमौं सौराहा चितवन अभियान सुरु गरेको अध्यक्ष पाण्डेले बताए । त्यसक्रममा सौराहा झल्किने गरी तयार पारिएको भिडियो सामग्री समेत देखाइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्वारको रुपमा समेत चिनिएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित सौराहा राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेको छ । संघका अनुसार विगत ५० वर्षको इतिहास बोकेको सौराहासहित चितवनमा वार्षिक ४ लाख पर्यटक आउने गर्दछन् । सौराहामा १ सय ५० सहित जम्मा चितवनमा २ सय ५० वटा होटल र १ सय वटा रेष्टुरेन्ट छन् । सौराहामा ९ हजारसहित जिल्लाभित्र १५ हजार बेड क्षमता रहेको छ । संघका अनुसार सौराहामा १ हजार देखि २ हजार ५ सय क्षमताका सभा हल छन् ।  निकुञ्जभित्र १ सय र मध्यवर्ती क्षेत्रमा १ सय गरी २ सय वटा जिप सफारी सञ्चालनमा रहेका छन् । चितवनमा निजी ६० र सरकारी ५६ वटा हात्ती छन् ।

कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, उद्योगी ब्यवसायीहरु प्रदिप छाछेड, दिवाकार खनाल, कल्पना शर्मा, नाटा बाँके अध्यक्ष श्रीराम सिग्देल लगायतले नेपालगञ्ज र सौराहाले पर्यटन प्रबद्र्धनमा संगसंगै काम गर्नुपर्ने बताउँदै एकले अर्कोलाई भरथेग गर्दै अघि बढ्नुपर्ने धारणा राखे । चितवन र बाँकेलाई पर्यटनसँग जोड्नका लागि यातायात सुविधा सहज बनाइनुपर्नेमा पनि उनीहरुको जोड छ ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका उपाध्यक्ष गुणराज थपलियाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव महेश खनालले गरेका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्