सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले १२औं स्थापना दिवस मनाएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री जन्यजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा १२औं स्थापना दिवस समारोह सम्पन्न भएको थियो ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रमा सुधारका निम्ति गरिरहेको कामहरु प्रशंसनीय रहेको बताए । उनले पश्चिम नेपालको गेट-वेका रुपमा रहेको कोहलपुरको विकास र समृद्धि सबैका लागि सिकाई र प्रेरणा हुने धारणा राखे । कोहलपुर नगरपालिका नगर प्रमुख आचार्यले नगरपालिकालाई उत्कृष्ट तरिकाले अघि बढाउने भरमग्दुर कोशिस गरिरहेको बताए। उनले नागरिकमैत्री सेवा प्रवाह गर्दै विकास, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न दृढ संकल्पित रहेको बताए । उनले कोहलपुर नगरपालिकाले सम्पन्न गरेका र अघि बढाएका मुख्य कामहरुको चर्चा समेत गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्रदेशसभा सदस्यहरु कृष्णा केसी नमुना, सञ्जु कुमारी चौधरी र बसन्ती अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारी, एमाले कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, भूमि समस्या समाधान आयोग बाँके अध्यक्ष घननाथ खनाल, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले कोहलपुर नगरपालिकाले समातेको लयको सराहना गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए । उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।
१२औं स्थापना दिवसमा सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । एसईई र विएलईमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारी, संघसंस्था, खेलाडी लगायतलाई पनि सम्मान गरिएको थियो । त्यसक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो भने उत्कृष्ट नृत्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए । कार्यक्रम कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले सञ्चालन गरेका थिए । औपचारिक समारोह अघि नगरमा प्रभातफेरि निकालिएको थियो । स्थापना दिवसलाई भव्यता दिन वैशाख २१ गतेदेखि नै विभिन्न इभेन्टहरु सञ्चान गरिएको थियो ।