भारतको केआईआईटी होस्टेलमा फेरि अर्की नेपाली छात्राको शव भेटियो, के भन्छ भारतीय प्रहरी...

शुक्रबार, वैशाख १९, २०८२
Honor 600 pro

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा फेरि एक जना वीरगन्जकी नेपाली विद्यार्थी मृत फेला परेकी छन्। 

भुवनेश्वर प्रहरीले नेपाली विद्यार्थी प्रिसा साह बिहीवार साँझ ७ बजे होस्टेलको कोठामा झुन्डिएको अवस्थामा  मृत फेला परेको जानकारी दिएको छ। प्रिसाको शव फेला परेको जानकारी आए लगत्तै तत्काल प्रहरी र फोरेन्सिक टोली घटनास्थल पुगेर जाँच सुरु गरेको थियो। उक्त जाँचपछि प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको जनाएको छ।

भुवनेश्वर प्रहरी प्रमुखले मृत्यु घटनाको बारेमा नेपाली राजदूतावास र प्रिसाका परिवार जानकारी गराइएको बताएका छन् ।  त्यहाँको प्रहरीले नेपाली दूतावासको सहयोगमा प्रिसाका परिवारलाई बोलाएको जानकारी दिएको छ। परिवार पुगेपछि मात्रै प्रहरीले पोष्टमार्टमको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

भारतस्थित नेपाली राजदूतावासले घटनाको बारेमा भारतीय विदेश मन्त्रालय, ओडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग  निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ।

सोही केआईआईटीमा यसअघि पनि फेब्रुअरी १६ मा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् ।

प्रिसा मृत्यु घटनाको निष्पक्ष छानबिन तथा अनुसन्धानका परराष्ट्र मन्त्री डा.आरजु राणाले कुटनितिक पहल सुरु गरिसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्