पत्रकारहरुका लागि फिचर लेखन तालिम बर्दियाको ठाकुरद्वारामा सुरु

बुधबार, वैशाख १७, २०८२

बर्दिया। पत्रकारहरूका लागि क्षमता विकास सम्बन्धि दुई दिने फिचर लेखन तालिम ठाकुरद्वारामा सुरू भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा दुई दिने तालिम आजदेखि सुरू भएको हो ।

तालिमको नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियासनले गमलामा जल चढाउँदै उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले पत्रकारहरू टुटफुट नभई सबै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । अहिले पत्रकारिता क्षेत्र व्यापक अफ्ठ्यारोेमा रहेको उनको भनाई छ । वर्तमान अवस्थामा जर्जर रहेको पत्रकारिता क्षेत्र बलियो बनाउन सबै लागिपर्नु पर्नेमा उनले जोड दिए । दिन प्रतिदिन सञ्चार माध्यम बन्द हुनु र पत्रकारहरू विदेशिने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।पत्रकारिता क्षेत्रमा समस्या समाधनको लागि छलफल र बहस गर्न जरूरी रहेको उनले बताए । अहिले अप्ठ्यारोमा परेको पत्रकारिता क्षेत्रलाई उकास्ने दायित्व पनि सरकारको रहेको उनले जानकारी दिए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाचार र फिचर लेख्न नसकेकै कारण कतिपय पत्रकारहरूले समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । पत्रकारिता क्षेत्रमा लेखन शैली अति महत्त्वपूर्ण रहेको उनले बताए । निर्वाचित भएपछि जिल्ला(जिल्लामा धन्यवाद ज्ञापन गर्न जाँदा आएको सुझाव अनुसार बर्दियाबाट फिचर लेखन तालिम सुरू भएको उनले बताए । १२ वटै जिल्लामा आवश्यकता र मागको आधारमा फरक(फरक तालिम प्रदान गरिने उनको भनाई छ । फिचर लेखनका पनि विभिन्न तरिका रहेकाले लेख्न सके पत्रकारिता क्षेत्रमा टिक्न सहज हुने उनले बताए ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूप्रति उठ्ने गरेको प्रश्नको उत्तर समाचार लेखेर दिनुपर्ने बताए । पछिल्लो समय महासंघले विभिन्न खालका विज्ञप्ति निकाल्नु परिरहेको बताउँदै उनले पत्रकार स्वयंले पनि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा लामो समयसम्म टिक्न लेख्ने कलाको विकास गर्न जरुरी रहेको उनको भनाई छ । दुई दिने तालिमले फिचर लेखनमा नयाँ उर्जा र आयाम थप्ने विश्वास लिएको उनले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय कपिपेस्ट गर्ने बानीको हाबी भएकोले त्यसलाई अन्त्य गरी आफैं लेख्न सक्ने हुनुपर्नेमा जोड दिए । तालिम उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष एवम् तालिम प्रशिक्षक डा। सुदिप गौतम, प्रेस सेन्टर लुम्बिनी अध्यक्ष प्रदिप वाग्ले, प्रशिक्षक शंकर खनाल लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी सचिव गोविन्द शर्माले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बर्दिया अध्यक्ष निर्मल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन महासचिव पाण्डव शर्माले गरेका थिए ।सो अवसरमा पत्रकार महासंघ लुम्बिनी प्रदेशको भित्तेपात्रो बिमोचन गरिएको थियोे । तालिममा बाँके र बर्दियाका ४५ जना पत्रकारहरू सहभागी रहेका छन् । प्रशिक्षकका रूपमा डा। गौतम, टीका बस्नेत र खनाल रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्