सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । मानव बेचबिखन तथा ओसारपसारको सवाल अन्तर्राष्ट्रिय सरोकारको विषय बनेको भन्दै अन्तरदेशीय हातेमालो र सहकार्यमा जोड दिइएको छ । मानव बेचविखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहले आज नेपालगन्जमा आयोजना गरेको मानव बेचविखन विरुद्ध 'अन्तरदेशीय कार्यशाला' गोष्ठीमा मानव बेचविखनको बदलिँदो आयामले चुनौती थपिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
बाँके र सीमावर्ती भारतीय जिल्ला बहराइचका प्रशासन र सुरक्षा अधिकारी तथा सरोकारवाला संघसंस्था समेतको उपस्थितिमा गरिएको गोष्ठीमा भारतसंगको खुला सीमानाले बढाएको चुनौती र बदलिँदो परिवेशमा अपनाउनुपर्ने सजगताबारे छलफल गरिएको छ । औपचारिक नाकाबाट समेत अहिले पनि ठूलो संख्यामा जोखिमपूर्ण यात्रा भइरहेकोप्रति दुबै देशका अधिकारी र मानव बेचविखनमा काम गर्ने संघसंस्थाहरु गम्भीर बन्नुपर्नेमा पनि जोड दिइएको छ। पछिल्लो समय सामाजिक संजालको दुरुपयोग बढेको तथा वैदेशिक रोजगारको नाममा बेचविखन भइरहेको औंल्याइएको छ ।
शक्ति समूहका परियोजना संयोजक विवेक शर्माले संस्थाले गरिरहेको काम, कार्य क्षेत्र, योजना तथा मानव बेचविखनको प्रवृत्तिबारे प्रस्तुतिकरण गरेका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी षडानन्द खत्रीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने संचालन शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चौधरी, उपप्रमुख सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी खत्री, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, ओयुआर रेस्क्यु कोर्डिनेटर सरला तामाङ, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, प्रहरी निरीक्षक शिवा थापा, मानव बेचविखन विरुद्ध क्रियाशील भारतीय संस्था देहातका हसन फिरोज, माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।