सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को त्रैमासिक बैठक आज सम्पन्न भएको छ ।
बैठकमा सुपरका राजु अधिकारीले सन् २०२५ को जनवरीदेखि मार्चसम्म सम्पन्न गरिएको गतिविधिका बारेमा जानकारी गराउँदै आगामी तीन महिना अर्थात अप्रिलदेखि जुनसम्म गरिने कार्यक्रम तथा योजनाबारे अवगत गराए ।
उनले नेपालगञ्जमा आवासीय बीमा कार्यक्रमको शुभारम्भ, विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत कृत्रिम घटना अभ्यास, स्थानीय तहबीच ज्ञान आदानप्रदान, घरेलु आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास, विभिन्न कलष्टरका आधारमा गरिएका छलफल र अन्तरक्रिया, कञ्चनपुरको बेलौरी नगरपालिकाले नेपालगञ्ज उपमहानगरपालिकामा भएका विपद सम्बन्धि असल अभ्यासबारे लिएको स्थलगत जानकारी लगायतका गतिविधि सम्पन्न गरिएको बताए । नगर प्रमुख प्रशान्त विष्टले विपद पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको कामलाई प्रभावकारी बनाउन उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउँदै सुपरसंगको सहकार्यले विपद व्यवस्थापनमा सघाउ पुगिरहेको उल्लेख गरे ।
बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख डाँगीले तातो हावाको प्रकोप ९लू० प्रतिकार्यका लागि भइरहेको प्रयास र साझेदारीबारे जानकारी गराएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । नेपालगञ्जमा रेडक्रससंगेको सहकार्यमा कुलिंग सेन्टर निर्माण भइरहेको छ । बैठकमा विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंह, विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठ लगायत विभिन्न शाखा(महाशाखाका प्रमुख एवम् प्रतिनिधि तथा रेडक्रसका केन्द्रिय प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।