अपराजित ललितपुर सिटी एफसीले जित्यो नेपाल सुपर लिगको उपाधि, पोखरा थन्डर्स २-१ गोलले पराजित

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ । नेपाल सुपर लिगको तेस्रो संस्करणको उपाधि अपराजित रहेको ललितपुर सिटी एफसीले जितेको छ । आज बेलुकी सम्पन्न फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुरले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

दशरथ रंगशालामा भएको पटक पटक हात हालाहालको स्थितिमा पुगेको फाइनलमा ललितपुर २–१ ले विजयी भएको हो । ललितपुरको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । ललितपुर गत संस्करणको पनि विजेता हो। गत संस्करणमा लतितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गरेको थियो । धनगढी भने लगातार दोस्रो फाइनल फाइनल पुगे पनि उपाधि विहीन भएको थियो । 

यसपालि दोस्रो क्वालिफायरबाट बाहिरियो । धनगढीलाई पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले हराएको थियो । ललितपुर पहिलो पटक अपराजित रहँदै उपाधि जित्न सफल भयो । 

ललितपुरका लागि इजिकेल र पापा इबु केबले गोल गरे । इजिकेलले एक गोल असिस्ट गरेका थिए । ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए ।

पोखराका सुदील राईले सान्त्वना गोल गरे । इजिकेलले ४२ औँ, सुदीलले ६४ औं मिनेटमा र पापाले ७४ औ मिनेटमा गोल गरेका थिए । 

खेलको दोस्रो हाफमा दुवै टोलीबीच हात हालाहाल र धकेलाधकेल भएको थियो । उपाधिसँगै ललितपुरले ८० लाख तथा उपविजेता पोखराले ३० लाख जितेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्