दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान

आइतबार, फागुन ४, २०८१

नेपालगञ्ज बाँकेको नेपालगञ्ज-३ एक्लैनीस्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबैभन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्ष देखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि जिल्ला प्रशासन कार्यालयद्धारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण गराउन समन्वयकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीसंग अनुरोध गर्ने र पाँच महिना देखि तलब नपाएका कर्मचारीहरुलाई १० दिन भित्रै तलब दिने निर्णय गरिएको महासचिव हाजी ऐनुद्दीन अन्सारीले जानकारी दिए ।

बैठकले अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली इद्रिसि र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईको हस्ताक्षरमा खाता संचालनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ भने निर्माणधिन अवस्थामा रहेको जामा मस्जिदको निर्माणको कामलाई तिब्रता दिने समेत बैठकले निर्णय गरेको छ । कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको समितिले जनाएको छ ।

प्रथम बैठकले संस्थाको प्रवक्तामा कार्यसमितिका सदस्य एंव पत्रकार आलम खानलाई बनाउने निर्णय गरेको छ । प्रवक्ता खानले आफ्नो कार्यकालभरि यथार्थपरक, सन्तुलित, प्रमाणिक र स्पष्ट समाचार र सुचनाका लागि आवश्यक जानकारी उपलब्ध गराउने प्रयास गर्ने उल्लेख गरे। 

उनले “एउटा गुणस्तरीय समाचारका लागि सत्य तथ्य जानकारी अपरिहार्य हुन्छ। प्रवक्ताका रूपमा रहँदा कानुनी परिधिभित्र रही आवश्यक सूचना प्रदान गर्ने प्रतिबद्धता" व्यक्त गरे । धार्मिक विषयमा मस्जिदका मुफती जाफर रजालाई बोल्ने पाउने अधिकार प्रत्योजन गरेको कोषाध्यक्ष मोहम्मद हुसेनले जानकारी दिएका छन्  ।

बैठकमा आउँदै गरेको मुस्लिमहरु पवित्र महिना रमजान लगायतको तयारीका विषयमा छलफल गरिएको अध्यक्ष मियाँले बताए । अध्यक्ष मियाँको अध्यक्षतामा भएको बैठकको संचालन सहसचिव अब्दुल अजीज काजी अन्सारीले गरेका थिए भने कार्यसमितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकार मोहशीन खान लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्