नेपालगञ्जमा आजदेखि सुरु भयो ७ औं राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कप खेलकुद

शुक्रबार, पुस १९, २०८१

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि सातौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)नेपालगञ्ज नगर समितिको व्यवस्थापनमा आजदेखि नेपालगञ्ज रंगशालामा सुरु भएको ४ दिने प्रतियोगिताको प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले उद्घाटन गरे ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नगरका ४४ वटा माध्यमिक र केही आधारभूत तहका विद्यालयले मार्च पास गर्दै सभाध्यक्ष र प्रमुख अतिथिलाई सलामी अर्पण गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री अग्रवालले खेलकुदले विद्यार्थीको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता प्रतियोगिता बेला बेलामा सञ्चालन हुन जरुरी रहेको बताए । खेलाडी उत्पादन र प्रोत्साहनका लागि विद्यालयहरुले खेलिरहेको भूमिकाको सराहना गर्दै उनले नेपालगञ्ज उपमहानगरपलिकाले भब्य कार्यक्रम आयोजना गरेको बताए ।

नगर प्रमुख प्रशान्त विष्टले खेलकुदले अनुशासित, मेहनती र कर्तब्यनिष्ठ बनाउन प्रेरित गर्ने भएकाले विद्यालयस्तरदेखि नै खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन भइरहनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रमको सञ्चालन मंगल प्रसाद माविकी प्रधानाध्यापक सन्ध्या गुप्ता र फुल्टेक्रा माविकी प्रधानाध्यापक शान्ति कँडेलले गरेका थिए । १९ देखि २२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न इभेन्टहरु समावेश गरिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्