डोल्पा डढेलोमा परी घाइते भएका तीनै जना बालकको मृत्यु

शनिबार, वैशाख १, २०८१
honor mob  winter sales

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा डढेलोमा परेका तीनै बालकको मृत्यु भएको छ।

Honor x7 pad

गत बिहीबार आगलागी घटनामा परेका तीनै जना बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।  

डढेलोमा परी गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए।

उपचारका क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार निधन भएको प्रजिअ दाहालले बताए।

डढेलोमा परी  घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका डढेलोमा परी गम्भीर घाइते भएका थिए।

एकै गाउँका तीन बालकको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए।

त्रिपुरासुन्दरीले घाइते दुई बालकलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाएको थियो।

उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

‘खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ,’ उनले भने।

यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो। रासस।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्