प्रेस युनियन बाँकेले भन्यो- सदस्यता टुंगो नलगाएर अधिवेशन गरे कडा प्रतिवाद गर्छौं

मंगलबार, चैत २७, २०८०
Honor 600 pro

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन तथा साधारणसभा गर्न पत्रकार महासंघ बाँकेलाई ध्यानाकर्षण गराएको छ।

पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा तथा अधिवेशनसहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन महासंघ बाँके शाखासँग प्रेस युनियन बाँकेले आग्रह गरेको हो । नेपाल पत्रकार महासंघले शुद्विकरण अभियानलाई थाँती राख्दै जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस युनियन बाँकेले महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । 

युनियन बाँके शाखा अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्ष कमल खत्री र सचिव भिष्म लोधले आज महासंघ बाँके शाखा अध्यक्ष भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा अधिवेशन घोषणा निर्णयबाट शुद्विकरण अभियान प्रभावित हुने प्रेस युनियनको ठहर रहेको उल्लेख गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गर्दै पत्रकार महासंघलाई आग्रह समेत गरेको जानकारी गराइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

साथै महासंघ केन्द्रीय कार्यालय, लुम्विनी प्रदेश कार्यालयलाई बोधार्थ पत्रमार्फत महासंघले प्रेस युनियनको माग विपरीत अधिवेशन-साधारण सभा लगायत कुनै पनि प्रक्रिया अगाडि बढाएमा सो कार्यको कडा प्रतिवाद गरिने चेतावनी समेत दिएको छ ।   

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्