श्रम स्वीकृति अब १ घण्टामै...

आइतबार, चैत २५, २०८०
honor mob  winter sales

काठमाडौं । अबदेखि एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आज वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको बताए। 

Honor x7 pad

उनले अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेन्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या,प्रणाली,विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सक्ने सकिने अवस्था भएको बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सम्पूर्ण कागजहरू अनलाइनबाट कागजात पेस गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउन सक्ने बताए । श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे । 

उनले सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवेयरमा समेत सुधार गरिरहेको बताए । मन्त्री अर्यालले अहिले दुई सिफ्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने बताए। 

उनले भने,‘वैदेशिक रोजगारीको लागि विदेशमा जान श्रमिकले लिने व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत वैदेशिक रोजगार कार्यालयबाट एक घण्टामा स्वीकृत दिन्छौँ । तर हामीले सेवाग्राहीले सबै डकुमेन्ट मिलाएर अपलोड गरे भने मन्त्रालयको अध्ययनले सबै कागज तथा प्रमाणपत्रहरू आएको अवस्थामा २ मिनेट ४४ सेकेन्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको छ । एक जना श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि २ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृत पाउन सक्ने व्यवस्था गरौँ । तर प्रविधि समस्या,प्रणाली,विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत पाउने भनेका छौं । अब सम्पूर्ण वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूले सम्पूर्ण कागजहरू र आवश्यक प्रक्रिया पूरा गरे सिस्टममा राखेको अवस्थामा एक घण्टामा आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति पाउन सक्नुहुन्छ। पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति नभएर पेण्डिङमा छैनन् । डकुमेन्टमा शङ्का लागेमा रिजेक्सनमा राखेर राख्छौँ । त्यसको लागि आवश्यक प्रविधि र कम्प्युटर लगायत अन्य कुरामा सुधार गरिरहेका छौं । दैनिक रूपमा दुई सिफ्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको छ । त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्छौँ ।’

मन्त्री अर्यालले पहिलो पटक यो प्रयास शुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे। उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने दाबी गरे । 

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगी रोक्नको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेको बीमा,स्वास्थ्य,अभिमुखीकरण लगायत अन्य कुनै पनि विषयमा सिन्डिकेट लाग्न नदिने उल्लेख गरे । यसअघि श्रम स्वीकृतिका लागि सेवाग्राहीले निकै सास्ती बेहोर्दै आउनुपरेको थियो।

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्