सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले प्रेस स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएको तथा पहिलो चरणको आन्दोलनका मागलाई बेवास्ता गरेको भन्दै महासंघले बिहीबार विज्ञप्ति जारी गरी थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको र सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको भन्दै महासंघ आन्दोलित बनेको हो। यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र प्रेस काउन्सिलको सिफारिसअनुसार पत्रपत्रिकाले पाउनुपर्ने लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषयलाई पनि महासंघले प्रमुख मुद्दा बनाएको छ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन महासंघले मंसिर १३ गतेदेखि मुख्य दलका केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ। जसअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १४ गते प्रमुख विपक्षी दल नेपाली कांग्रेस, १५ गते नेकपा (एमाले), १६ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा), १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ। यद्यपि, कुनै राजनीतिक दलले महासंघका मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिइने विज्ञप्तिमा स्पष्ट पारिएको छ।
यस्तै, मंसिर २० गते काठमाडौँको माइतीघर मण्डला तथा जिल्ला सदरमुकामहरूमा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासंघले जनाएको छ। जिल्ला शाखाले जिल्लामा, प्रदेश समितिले प्रदेशमा र उपत्यकाका शाखा तथा केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा कार्यक्रम सञ्चालन गर्नेछन्। दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणका कडा कार्यक्रम सार्वजनिक गर्ने चेतावनी महासंघले दिएको छ।