मेलामा घुम्न गएका ३९ वर्षीय शिक्षक भानुभक्तको हत्या, ११ जना पक्राउ

सोमबार, भदौ १५, २०८३

काठमाडौं । धार्मिक मेलामा घुम्न गएका खोटाङका एक शिक्षकको कुटपिटबाट हत्या भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत ३९ वर्षीय शिक्षक भानुभक्त राई भदौरे मेला घुम्न साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबु पुगेका थिए । भदौ ११ गते साँझ मेलामा शिक्षक राई र सुङ्देलकै निशान राई भनिने ‘माइकल’बीच विवाद भएको प्रहरीले जनाएको छ ।

विवादपछि शिक्षक राईमाथि कुटपिट भएको र सोही क्रममा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले घटना पुरानो रिसिइबीसँग जोडिएको हुन सक्ने जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत भोजपुर अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार शिक्षक भानुभक्त तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा जाने भन्दै गाउँबाट निस्किएका थिए । त्यसक्रममा उनी सालपापोखरी पुगेका थिए । त्यहीँबाट उनी माबुमा लागेको धार्मिक मेलातर्फ पुगेका थिए ।

स्थानीयका अनुसार शिक्षक राई र निशान राईबीच यसअघि पनि गाउँमा पटक–पटक विवाद हुने गरेको थियो । मेलामा भएको विवादपछि राति शिक्षक राईमाथि कुटपिट भएको र त्यसबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा एउटै गाउँका ११ जना पक्राउ परेपछि सुङ्देल क्षेत्रमा तनावको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।घटना भोजपुरमा भएकाले शिक्षक राईको हत्या सम्बन्धी अनुसन्धान तथा कानुनी प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले अघि बढाइरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्