राप्तीको बाढीबाट बस्ती बचाउन तटबन्ध बनाइँदै

सोमबार, असार १६, २०८२

नेपालगञ्ज । बाँकेमा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु गरिएको छ। राप्ती नदीमा आउने बाढीका कारण अति जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिम हुने स्थानका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने अभियानमा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढाइएको हो । नदी तटीय क्षेत्रहरुमा बर्षेनी डुबानको समस्या हुँदै आएको छ । 

Honor x7 pad

वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक हप्ता बढी समयदेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा.. नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माण स्थलमै रहेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ प्रविधिबाट अस्थायी आपतकालीन तटबन्ध बनाउने कार्य गरिरहेको छ ।

राप्ती नदी क्षेत्रमा प्रायः डुबान र कटानको समस्या तीब्ररुपले हुने हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीहरु बाढी र नदी कटानको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रुपले नदीको ४ मिटर गहिराईबाट तटबन्ध बान्ने कार्य जनताको तटबन्धले गरिरहेको डा.  सुवेदीले जानकारी दिए ।

जिल्लाका तीन स्थानीय तह अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ स्थित ढलैया, वडा नम्बर ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदी पुर्वको नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ स्थित सोनवर्षा, गंगापुर (कुदरबेटवा), भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पुर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपतकालीन तटबन्धको काम सुरु गरिसकेको डा. सुवेदीले बताए ।

पक्की तटबन्ध निर्माणका लागि गत जेठमा मात्रै बोलपत्र आह्वान हुँदा बजेट र ढुंगाको अभावका साथै वर्षा सुरु भइसकेका कारण हाललाई अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरिएको सुवेदीले बताए । उनका अनुसार यो वर्षापछि असोज कात्तिकसम्ममा बोलपत्रमा आह्वान भए अनुसारको स्थायी तटबन्ध निर्माण कार्य सुरु हुने भएको छ ।

राप्ती नदी कटानबाट त्यस क्षेत्रका करीब ३० हजार जनता बाढीको उच्च जोखिममा रहँदा दाङस्थित जनताको तटबन्धले हाललाई अस्थायी रुपको आपतकालीन तटबन्ध निर्माण गरेपछि जोखिम कम हुने नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी बताउँछन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्