रौतहटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

मंगलबार, मंसिर २५, २०८१

रौतहट । मेलाबाट फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

Honor x7 pad

बारा जिल्लामा लाग्ने पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा,  ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका-५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।

दुर्घटनामा अर्नमा-३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा-३ कै ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् ।

घाइतेहरुको वीरगन्जमा उपचार भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ भने प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्