भारी वर्षाको खतराको जोखिम: ३४ जिल्लामा रात्रिबस नचलाउन निर्देशन

मंगलबार, साउन २२, २०८१
Honor 600 pro

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ। 

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो।

विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ।

विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रूकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ।

प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ।

प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाका तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ। रासस।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्