ढुङ्गा लागेर आफू मरेर ३० यात्रुको ज्यान बचाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्दै

मंगलबार, साउन २२, २०८१
honor २२ sept

काठमाडौं । आफू मरेर ३० जना  यात्रुहरुलाई बचाएका बस चालक मेघनाथ विकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ। 

X7D

गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएका ३६ वर्षीय बस चालक विकलाई विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले स्व. विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको हो।

नारायणगढ-मुग्लिन सडकखण्डमा ढुङ्गा आफूलाई लागेर च्यापिदा समेत तुरुन्त बसको ब्रेक लगाएर ३० यात्रुलाई जोगाउदा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनले उक्त बसको ब्रेक नलगाएको भए बस सोझै त्रिशूूली नदीमा खस्ने पक्कै थियो तर आफूलाई त्यति ठुलो ढुङ्गा लागेर च्यापिदा समेत तुरुन्त बसको ब्रेक लगाएर चालक विकले सबै यात्रुको ज्यान बचाउन सफल भएका थिए।

गत असार २८ गते बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्व. चालक नवलपरासीको सुनवल नगरपालिका-४ का स्थायीवासी थिए। आफू मर्दासमेत कयौं यात्रुलाई जोगाएका कारण उनको चौतर्फी प्रशंंसा हुँदै आएको छ। सरकारले आफूले ज्यान गुमाएर समेत यात्रुको ज्यान जोगाएको  उनको त्यो बहादुरीपूूर्ण कार्यको उच्च कदर गर्दै मरणोपरान्त उनलाई सम्मान गर्न लागेको हो।  सरकारले उनलाई कुन सम्मान र कति राहत रकम दिने भन्ने बारेमा केही खुलाएको भने छैन ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्