तनहुँमा पहिरोमा बेपत्ता भएकी महिलाको शव भेटियो, अन्य दुईको खोजी जारी

आइतबार, असार २३, २०८१
honor २२ sept

तनहुँ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ। अन्य दुईजनाको खोजी जारी छ। पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राति भेटिएको हो। 

X7D

पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए। बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्। हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए।  पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन्। घाइतेको  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। 

वर्षाले ग्रामीण सडक अवरूद्ध

शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।  शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन्। भिमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिए। भिमकाली, मिर्दी, किहुँ, उत्तरदक्षिण, बिरुवा, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन्। 

यस्तै घिरिङ गाउँपालिका–२ बैडी सडकखण्ड पनि पहिरोले अवरुद्ध छ। शुक्लागण्डकी नगरपालिका–५ पाटनमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पानी परिरहेकाले पहिराको जोखिम कायमै रहेको छ।

उनले भने, ‘सडक खुलाउने प्रयास भइरहेको छ। पोखरा आउजाउ गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौं।’ दमौलीबाट पोखरा जान भोर्लेटारचोकबाट कलेस्ती, दुइपिप्ले, पोल्याङ, राजाको चौतारा हुँदै जान सकिन्छ। 

पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा खुल्यो

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ। शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आज बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो। 

खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।रासस।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्