ललितपुरको ग्वार्को आगलागी घटनामा थप एकको मृत्यु, मृतकको संख्या ३ पुग्यो

सोमबार, वैशाख ३१, २०८१
Honor 600 pro

ललितपुर ।  ललितपुरको ग्वार्कोमा रहेको एक टहरामा आगलागी भएर घाइते भएका एकै परिवारका ५ जना मध्ये  थप एक जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ पुगेको छ। 

आगलागीबाट गम्भीर घाइते भएर उपचाररत ३२ वर्षीया रुपा गिरीको आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक रुपालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

चैत २३ गते बिहान ललितपुर महानगरपालिका-१७ स्थित ग्वार्कोमा एक  टहरामा मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको उपचारका क्रममा किष्ट अस्पतालमा गत सोमबार साँझ मृत्यु भएको थियो।  

आगलागीबाट जलेर गम्भीर घाइते भएका ३५ वर्षीय सन्जय गिरीको अवस्था अझै गम्भीर रहेको छ। उनको   आईसियुमा राखिएको छ। आगलागीबाट घाइते भएका १५ वर्षीय नित गिरीको अवस्था सामान्य रहेको हुँदा जनरल वार्डमा सारिएको अस्पतालले जनाएको छ। मृतकमध्ये रुपा सन्जयकी पत्नी र एलिसा र प्रिया उनकी छोरीहरु हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्