निलसागरको लापरबाहीले सुनिलको मृत्यु भएको आफन्तको आरोप, 'यो घटनाप्रती धेरै दुखी छु': सरिता

मंगलबार, पुस ३, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जस्थित निलसागर बृद्धाश्रममा गणेशपुरका ४० बर्षीय सुनिलसिंह सिजापतिलाई आश्रममा लगिएको भोलिपल्टै गएको शनिवार मृत्यु भएपछि परिवारले हेरचाहमा ध्यान नपुर्याएको कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुनिललाई मंसिर २९ गते निलसागर लगिएको थियो । 

Honor x7 pad

आश्रमको कम्पाउण्डभित्रै कपडा धोएको पानी जम्मा हुने खाडलमा परेर सिजापतिको मृत्यु भएपछि आश्रमले हेरचाहमा ध्यान नपुर्याएको आफन्तको गुनासो छ । "आश्रमको फितलो प्रशासन र कमजोर सुरक्षा अवस्था देखियो, यो त चरम लापर्वाही हो," एक जना आफन्तले भने, "कम्पाउण्डभित्रै सानो पानी जमेको खाडलमा डुबेर मर्ने स्थिति आउनु निकै दुःखद कुरो हो, यसले आश्रमको कमजोरी उदांगिएको छ ।" 

निलसागर बृद्धाश्रमकी अध्यक्ष सरिता खनालले शारीरिक र मानसिकरुपले कमजोर व्यक्तिलाई परिवारजनकै आग्रहमा आश्रममा राखिएको बताउँदै अप्रत्याशित रुपमा यस्तो घटना भएपछि आफू पनि दुःखिद् भएको बताइन् । "उहाँ निकै कमजोर हुुनुहुँदोरहेछ, मुखमा पनि पहिले नै चोट थियो, परिवार भएको मान्छेलाई आश्रममा राख्ने हाम्रो मापदण्ड नभएपनि परिवारजनले विशेष आग्रह गरेपछि राम्रो होस् भनेर हामीले राखेका थियौं, राती ११ बजेसम्म उहाँ कोठामै हुनुहुन्थ्यो। तर, विहान यो घटना भयो," खनालले भनिन्, "उहाँमा निद्रा नलाग्ने समस्या रैछ, यहाँ राखेकै दिन हामीले मानसिक रोग विशेषज्ञलाई चेकजाँच गराएर ल्याएका पनि थियौं ।" 

घटना भएपछि लापर्वाही जस्तो देखिने गरेपनि आफूहरुले आश्रममा राखिएका व्यक्तिहरुको हेरचाहमा सक्दो ध्यान दिएको उनको भनाई छ । "हामीले सुरक्षागार्ड राख्न सकेका छैनौं, निकै दयनीय अवस्थाबाट हामी गुज्रिरहेका छौं, खनालले भनिन्, "४/५ जना भोलन्टियर भाईबिहिनीहरुले रेखदेखमा सहयोग गर्नुभएको छ ।"

"अहिले हामीले २१६ जनालाई आश्रममा राखेका छौं, मानवीय नाताले कसैले दुःख नपाउन् भनेर सहयोग गरिएको अवस्थामा उहाँको निधनले मलाई अति पीडा भएको छ," खनालले भनिन् । "निलसागर ८ बर्षमा लाग्यो । निलसागरले ३५०० जनालाई उद्धार गरेर २९६५ जनालाई परिवारमा राम्रो बनाएर पुनःस्थापना गराएको छ । सेवा आश्रममा बस्ने क्रममा मृत्युबरण गरेका २०७ जनाको मैले आफैं दाहसंस्कार गरेको छु ।

हामी कहाँ यस्तो अप्रिय घटना पहिलो पटक भयो," खनालले भनिन्, "सरकारले राम्रो सहयोग गरेर सुरक्षागार्ड राख्न सकेको भए यो दिन देख्न पर्थेन होला । मैले सुनिल दाई (सुनिलसिंह सिजापति) लाई  पहिल्यैदेखि चिन्थें । उहाँलाई राम्रो बनाएर घर पठाउने र आश्रममा सेवा गर्न सक्ने बनाएर उहाँको परिवारमा बुझाउने मेरो सपना अधुरो रह्यो । यो घटनाले म एकदम दुःखी छु ।"

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्