नयाँ कारागार भवन रित्तै, जिर्ण भवनमा कैदीको भीड

शनिबार, मंसिर २३, २०८०
honor mob  winter sales

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो ।

Honor x7 pad

तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ। पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको सुविधासम्पन्न कारागार भवनको वरिपरि सुरक्षा पर्खाल बन्न नसक्दा उक्त कारागार भवन अहिले रित्तै छ । जीर्ण बनेको पुरानो कारागारमा भने बन्दीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता छ ।

२०८० असारमै निर्माण सम्पन्न भएको कारागारमा बजेट अभावका कारण सुरक्षा पर्खाल बन्न नसक्दा बन्दी सार्न नसकिएको निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णले बताए।

‘निकै समस्या छ । कारागार भवन त बन्यो, हामीले पहल पनि गर्‍यौं, गरिरहेका छौं तर सुरक्षा पर्खालको लागि बजेट नआएको कारण त्यो भवनमा कैदी सार्न पाइएको छैन’, उनले भने, ‘अनुगमनमा आउने जिम्मेवार सरोकारवालालाई यहाँका समस्या सुनाइन्छ तर समाधान हुँदैन ।’

सुरक्षा पर्खाल बनेमा नयाँ पक्की कारागारमा महिला कैदीलाई सार्न मिल्ने र पुरुष कैदीलाई हालको महिला कारागारमा राख्ने योजना छ ।

पन्ध्र जना पुरुष कैदीबन्दीको क्षमता भएको कारागारमा पाँच गुणा बढी ७८ जना कैदी राखिएको छ तर १५ जनाकै क्षमता भएको महिला कारागारमा जम्मा छ जना मात्रै कैदी छन्। कारागार व्यवस्थापन विभागले रु ५० लाख ४५ हजार ७१३ को लागतमा नयाँ भवन निर्माण गरेको हो । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्