सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १७औं अधिवेशनमा गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति कार्यक्रम गाउँपालिकाको दिगो विकास, सामाजिक समावेशीकरण, स्रोत संरक्षण र समृद्धि लक्षित गरिएको छ । यस्तो छ नीति तथा कार्यक्रमः
पर्यटन उद्योगबाट आम्दानी वृद्धि
गाउँपालिकाले आफ्नो आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मुख्य स्तम्भको रूपमा लिएको छ । ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्दै पर्यटनको विकास गर्न नीति बनाइएको छ । गाउँपालिकाले ट्रेकिङ, क्यानोइङ, बन्जी जम्पिङ, जिप फ्लायर, र ¥याफ्टिङ जस्ता साहसिक खेलहरूलाई प्रवद्र्धन गर्दै स्थानीय रोजगार र आम्दानी सिर्जना गर्ने लक्ष्य राखेको छ । पर्यटन उद्योगसँग जोडिएका पूर्वाधारहरू क्रमशः निर्माण तथा व्यवस्थापन गरिनेछ ।
आधारभूत पूर्वाधार विकास
सहरीकरणका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, इन्टरनेट र बैंकिङ क्षेत्रमा गाउँपालिकावासीको पहुँच विस्तार गर्न नीति बनाइएको छ । अध्यक्ष पौडेलले भने, ‘सामाजिक विकास र आर्थिक समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगति अनिवार्य छ । यसैले यी क्षेत्रमा लगानी बढाउने हाम्रो लक्ष्य हो ।’
शिक्षा क्षेत्रको विकास
शिक्षालाई गाउँपालिकाको समग्र विकासको मूल आधार मान्दै नीति बनाइएको छ । राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार शिक्षा क्षेत्रलाई गाउँपालिकाको समग्र विकासको मूल आधार मान्दै विशेष प्राथमिकता दिएको छ । गाउँपालिकाले विद्यालयमा रिक्त शिक्षक दरबन्दीहरू पूर्ति गर्ने योजना अघि सारेको छ, जसले गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई एक आपसमा समायोजन गर्ने नीति समेत अघि बढाइनेछ । जसले स्रोतको प्रभावकारी उपयोग र विद्यालयहरूको दिगो सञ्चालनमा मद्दत पु¥याउनेछ । विद्यालयका भौतिक संरचनामा पनि व्यापक सुधार गर्ने योजना छ । विशेषगरी टिनको छाना भएका विद्यालयहरूमा वातावरण अनुकूल जिप्सन वा प्लाई प्रयोग गरी गर्मीबाट शितलता दिने व्यवस्था गरिनेछ, जसले विद्यार्थीहरूको पढाइमा सहजता थप्नेछ । साथै, सबै विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने लक्ष्य राखिएको छ, जसले शिक्षामा आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । विद्यालयहरूको खानेपानी व्यवस्था, शौचालय निर्माण र मर्मत सम्भारमा पनि जोड दिइनेछ ताकि बालबालिकाको स्वास्थ्य र सरसफाई सुनिश्चित होस् । बालमैत्री गाउँपालिका बन्नका लागि बालबालिकाको शिक्षा सुधार र संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसले बालबालिकामैत्री वातावरण सिर्जना गर्दै गुणस्तरीय शिक्षा र समग्र विकासमा योगदान पु¥याउनेछ ।
गाउँपालिका अध्यक्ष पौडेल भने, ‘शिक्षा क्षेत्रमा गरिएको लगानी नै दिगो विकासको आधार हो । हामी सबैले मिलेर गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै बालबालिकालाई उज्ज्वल भविष्यको बाटोमा अघि बढाउने छौं ।’ यस प्रयासले राप्तीसोनारीका विद्यार्थीहरूलाई नयाँ ज्ञान र सीपको अवसर प्रदान गर्नेछ र गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिन्छ ।
भूमि व्यवस्थापन र कृषि क्षेत्रको सुधार
गाउँपालिकाले भूमि व्यवस्थापन र कृषि क्षेत्रको समग्र सुधारमा विशेष जोड दिएको छ । गाउँपालिकामा हाल कृषि योग्य भूमिको अनियन्त्रित खण्डीकरण, अतिक्रमण, उत्पादनमा कमी, र खाद्य सुरक्षामा चुनौतीहरू देखिएका छन्। यसलाई मध्यनजर गर्दै प्रभावकारी भूउपयोग योजनाको कार्यान्वयन गरी बस्ती र कृषि योग्य भूमिको दिगो संरक्षणमा जोड दिइनेछ। कृषिमा आधुनिक प्रविधि र दिगो खेती प्रणाली अपनाउने लक्ष्यसहित मल्चिंग खेती, जैविक मल र हरियो कम्पोस्ट उत्पादनलाई प्रवद्र्धन गरिनेछ । अनावश्यक खण्डीकरणलाई निरुत्साहित गरी कृषकहरूको परिचयपत्र वितरण गरी तथ्यांक व्यवस्थापन गरिनेछ, जसले कृषक पहिचान र सेवामा सहजता ल्याउनेछ । व्यवसायिक खेती गर्ने कृषकलाई लक्षित गरी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । खाद्य सुरक्षा र पोषण सुधारका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गरी प्रत्येक वडामा स्थानीय उत्पादन वृद्धि गरिनेछ । विशेष गरी महिला, मधेशी, मुस्लिम, दलित, एकल महिला र द्वन्दपीडित वर्गलाई प्राथमिकता दिइनेछ, जसले समावेशी विकास सुनिश्चित गर्नेछ।
कृषक तालिम, कृषि प्रसार तथा क्षमता विकासमा समेत जोड दिइनेछ । साना सिँचाई क्षेत्रमा यान्त्रिकीकरण गरिनेछ र स्थानीय तरकारी तथा फलफुल संकलन र बिक्री केन्द्र स्थापना गरी कृषकलाई बजारमा सहज पहुँच दिइनेछ । डिजिटल म्यापिङ प्रणाली प्रयोग गरी माटो सुधार कार्यक्रम पनि सञ्चालन गरिनेछ । अर्गानिक खेती र मसला बाली उत्पादनलाई प्रोत्साहन गर्दै सहकारी संस्थाहरूको सुशासन र क्षमता विकासमा समेत बल दिइनेछ । सामुदायिक वनसँग सहकार्य गरेर जडीबुटी खेतीलाई प्रवद्र्धन गर्ने र दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी पशुपालन क्षेत्रको विकासमा पनि विशेष ध्यान दिइनेछ । यस योजनाले राप्तीसोनारी गाउँपालिकामा कृषि उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षा र आर्थिक समृद्धिमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सामाजिक समावेशीकरण र महिला सशक्तिकरण
लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई नीति कार्यक्रमको केन्द्रमा राखिएको छ । महिलाहरुको आर्थिक सशक्तिकरणका लागि कृषिमा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । जेष्ठ नागरिक, दलित, पिछडिएका वर्गलाई पनि प्राथमिकतामा राखेर योजना बनाइनेछ ।
वातावरण संरक्षण र विपद् व्यवस्थापन
प्राकृतिक स्रोत संरक्षण, जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनमा जोड दिइनेछ। वन क्षेत्रको अतिक्रमण रोक्न प्रभावकारी कदम चालिनेछ ।
बजेट र कार्यान्वयन
नीति कार्यक्रम अनुरुप आगामी वर्षका लागि आवश्यक बजेट विनियोजन र कार्यान्वयनका लागि योजना तयार गरिनेछ । गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूसँग समन्वय गरी कार्यक्रम प्रभावकारी बनाउन पहल गरिनेछ ।
अध्यक्ष पौडेलको प्रतिबद्धता
अध्यक्ष पौडेलले भने, ‘हामी सबै मिलेर दिगो विकास, सामाजिक न्याय र समृद्ध गाउँपालिका निर्माणका लागि कटिबद्ध छौं । नीति तथा कार्यक्रमले यस दिशामा ठोस मार्गदर्शन गर्नेछ ।’
'मेरो पाइला राप्तीसोनारीलाई'
राप्तीसोनारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय सरकारको दीर्घकालीन सोच, नागरिक सहभागिता र क्षेत्रीय समृद्धिको स्पष्ट संकेत दिएको छ । अध्यक्ष पौडेलको नेतृत्वमा प्रस्तुत गरिएको नीति दस्तावेजमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, वातावरणीय सन्तुलन र सामाजिक समावेशिताका विषय समेटिएको छ । यसपटकको नीति दस्तावेजमा ‘मेरो पाइला राप्तीसोनारीलाई’ कार्यक्रमलाई विशेष प्राथमिकताका साथ समावेश गरिनु उल्लेखनीय छ । यो कार्यक्रम राप्तीसोनारीको सामुदायिक जागरूकता, आर्थिक आत्मनिर्भरताको प्रवद्र्धन र सहरी–ग्रामीण समन्वयमा आधारित नविनतम् पहलको रूपमा अघि आएको छ । राप्तीसोनारी क्षेत्रमा केन्द्रित यो अभियानले स्थानीय स्तरमै स्वच्छता, शिक्षा, महिला सशक्तिकरण, वातावरण संरक्षण, कृषि प्रवद्र्धन र स्वरोजगार सिर्जनाका विषयमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस कार्यक्रममार्फत महिला समूह, सामुदायिक संस्थाहरू, युवाहरू र किसानहरूलाई लक्षित कार्यक्रम सञ्चालन गरिने अपेक्षा छ । यसमार्फत उत्पादनमुखी, वातावरणमैत्री र स्थानीय स्रोतमा आधारित विकासको दृष्टिकोण अपनाइएको छ ।
– ‘शिक्षक झोला’ कार्यक्रम लागू गरी प्रत्येक शिक्षकको झोलामा शिक्षक डायरी, पाठ्यक्रम, शिक्षक
निर्देशिका, पाठ्यपुस्तक, ल्यापटप, पेनड्राइभसहितको कार्यक्रम लागु गरिनेछ ।
– शिक्षालाई गाउँपालिकाको समग्र विकासको मूल आधार मान्दै नीति बनाइएको छ ।
– विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गरी गुणस्तरीय शिक्षा प्रवाह सुनिश्चित गरिनेछ ।
– विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई एक आपसमा समायोजन गर्ने नीति अघि बढाइनेछ ।
– विद्यालयका भौतिक संरचनामा सुधार गरिनेछ। विशेष गरी टिनको छाना भएका विद्यालयमा वातावरण अनुकूल जिप्सन वा प्लाई प्रयोग गरी शितलता दिने व्यवस्था गरिनेछ ।
– इन्टरनेट सुविधा सबै विद्यालयमा पु¥याउने योजना छ ।
– विद्यालयको खानेपानी व्यवस्था, शौचालय निर्माण र मर्मतमा जोड दिइनेछ ।
– बालबालिकाको शिक्षा सुधारका लागि बालमैत्री गाउँपालिका निर्माणको कार्यक्रम अगाडि बढाइनेछ ।
– गाउँपालिकामा कृषि योग्य भूमिको अनियन्त्रित खण्डीकरण, अतिक्रमण, उत्पादनमा ह्रास, खाद्य सुरक्षामा चुनौतीहरू रहेको छ ।
– प्रभावकारी भूउपयोग योजनाको कार्यान्वयन गरी बस्ती र कृषि योग्य भूमिको दिगो संरक्षण गरिनेछ ।
– कृषिमा मल्चिंग खेती प्रणाली, जैविक मल र हरियो कम्पोस्ट उत्पादन प्रवद्र्धन गरिनेछ ।
– जग्गाको अनावश्यक खण्डीकरणलाई निरुत्साहित गरिनेछ ।
– कृषकलाई परिचयपत्र वितरण गरी तथ्यांक व्यवस्थापन गरिनेछ ।
– व्यवसायिक खेतीलाई लक्षित गर्दै अनुदान र प्राविधिक सहयोग दिइनेछ ।
– खाद्य सुरक्षा र पोषण सुधार गर्न ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गरिनेछ ।
– महिला, मधेशी, मुस्लिम, दलित, एकल महिला र द्वन्दपीडितलाई विशेष प्राथमिकता दिइनेछ ।
– कृषक तालिम, प्रसार तथा क्षमता विकासमा जोड दिइनेछ ।
– साना सिँचाई क्षेत्रमा यान्त्रिकीकरण गरिनेछ ।
– स्थानीय तरकारी र फलफुल संकलन बिक्री केन्द्र स्थापना गरिनेछ ।
– डिजिटल म्यापिङ प्रणालीमार्फत माटो सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
– अर्गानिक खेती र मसला बाली उत्पादन प्रवद्र्धन गरिनेछ ।
– सहकारी संस्थाको सुशासन अभिवृद्धि गर्दै क्षमता विकास गरिनेछ ।
– सामुदायिक वनसँग सहकार्य गर्दै जडीबुटी खेती प्रोत्साहन गरिनेछ ।
– दुग्ध संकलन र प्रशोधन केन्द्र निर्माण गरी पशुपालन प्रवद्र्धन गरिनेछ ।
स्वास्थ्य सेवा सुधार
– सबैका लागि सर्वसुलभ प्राथमिक स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
– प्रसूति सेवा, आकस्मिक सेवा, नवशिशु सेवा विस्तार गरिनेछ ।
– किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
– स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार बालमैत्री र अपांगमैत्री गरिनेछ ।
– महामारी र आकस्मिक अवस्थाका लागि तयारी र स्टक व्यवस्थापन गरिनेछ ।
– स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा जोड दिइनेछ ।
रोजगार र उद्यमशीलता
– बेरोजगारहरूका लागि रोजगार बैंक स्थापना गरिनेछ ।
– महिला र युवाहरूका लागि उद्यमशीलता तालिम गरिनेछ ।
– वैदेशिक रोजगार सम्बन्धि सहजीकरण निरन्तरता दिइनेछ ।
– स्वरोजगार तथा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
पर्यटन विकास र पूर्वाधार
– बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सहज बनाउन पहल गरिनेछ ।
– होटल, रेष्टुरेण्ट, होमस्टे र रिसोर्ट निर्माणमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ ।
– राप्ती नदीमा न्याफ्टिङ्ग र बोटिङ कार्यक्रम सञ्चालन गरिनेछ ।
– पर्यटन सूचना केन्द्र स्थापना गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
– ‘घुमौं नाचौं राप्तीसोनारी’ अभियान अन्तर्गत पर्यटकीय स्थल प्रचार–प्रसारका लागि डकुमेन्ट्री निर्माण गरिनेछ ।
– हात्तीसार पार्क निर्माण कार्य अघि बढाइनेछ ।
सहकारी संस्थाहरुको सुदृढीकरण
– सहकारी संस्थाहरूको अभिलेख, नियमन, अनुगमन र क्षमता विकासमा जोड दिइनेछ ।
– सहकारी संस्थाहरुमा ‘एक सहकारी एक उत्पादन’ तथा ‘एक घर एक सहकारी’ कार्यक्रम सञ्चालन गरिनेछ ।
– सहकारी संस्थाहरुले कृषि, पशुपालन, जडीबुटी, पर्यटन क्षेत्रका उत्पादनहरुमा संयुक्त लगानी र नमुना उत्पादन कार्यक्रम सञ्चालन गर्नेछन् ।
– उत्पादित वस्तुहरुको ब्राण्डिङ, प्याकेजिङ, बजारीकरण र भण्डारणका लागि पूर्वाधार विकास गरिनेछ ।
स्थानीय सञ्चारकर्मी तथा सञ्चार माध्यमको उपयोग, पालिकाको आमसञ्चार नीति बनाउने, स्थानीय सञ्चारकर्मी उत्पादन, लेखन सीप क्षमता विकास जस्ता कार्यक्रम सञ्चालन गर्ने विषय पनि समेटिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम आजै पारित भएको गाउँपालिकाका प्रबक्ता मिनराज खड्काले बताए। त्यसपछि सभामा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गरेकी थिइन् । राप्तीसोनारी गाउँपालिकाले १ अर्ब २० करोड ६ लाख २९ हजारको बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताए । गाउँसभाको १७औं अधिवेशनको अर्को बैठक असार १६ गते बस्ने ऐडीले जानकारी दिए । सभामा विभिन्न विषयगत समिति संयोजकहरुले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । यस्तै गाउँसभाबाट विभिन्न ऐन र कार्यविधि पनि पारित भएका छन् ।