सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको उपलब्धि तथा बार्षिक समिक्षा सम्पन्न भएको छ । नेपालगञ्जमा शुक्रबार आयोजित उपलब्धि तथा बार्षिक समिक्षा कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले सामी कार्यक्रम धेरै प्रभावकारी देखिएको उल्लेख गरे । उनले सामीको निरन्तरताको लागि बजेट ब्यवस्थापन गर्ने बताए ।
बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सामीले राम्रो काम गरिरहेको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सूचनामा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच र निःशुल्क सीप सेवा प्रदान गरिरहेको भन्दै त्यसको प्रभाव जनस्तरमा देखिएको बताए । कार्यक्रममा सामीका सम्पूर्ण कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
सामीका जिल्ला संयोजक कमल सिंह नेपालीले बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, विरामी वा अंगभंग भएका, मृत्यु भएका कामदारका परिवारलाई क्षतीपूर्ति रकम, बीमा रकम लगायतमा सहायता प्रदान गरिएको बताए। बाँकेमा बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदार र कामदारका घरपरिवारलाई पछिल्लो एक बर्षमा १ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक बर्ष २०८१-०८२ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १०३ समस्या मध्ये ४२ वटा समाधान भएको नेपालीले बताए । ६१ वटा समस्या अझै प्रक्रियामा छन् । चालू आर्थिक बर्षमा बाँकेमा ४९ वटा ठगी, १८ जनाको मृत्यु, स्वास्थ्य समस्या भएका ३ जना, जेल २, हराएको १०, उद्धार १५, स्थानीय तहद्वारा रिफर २ र अन्य ४ गरी १०३ वटा समस्या आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका थिए।
सामी कार्यक्रम सञ्चालन भए यता बाँकेमा हालसम्म ६ करोड ९७ लाख ६२ हजार २ सय ५८ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको सामीका बाँके जिल्ला कार्यक्रम संयोजक नेपालीले जानकारी दिए । नेपालीका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ४२५ समस्या मध्ये २५१ वटा समाधान भएका छन् । १७४ वटा समस्या अझै प्रक्रियामा छन् ।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ । आगामी आर्थिक बर्षदेखि डुडुवा र राप्तीसोनारीमा सामी कार्यक्रम सञ्चालन हुँदैछ । बाँकेमा आर्थिक बर्ष २०७५-०७६ देखि सामी कार्यक्रम सुरु भएको हो।
सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।