सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । ‘स्थानीय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने नाराका साथ बाँकेको राप्तीसोनारी गाउँपालिकामा प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको प्वाँखबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन सम्वन्धि ३० दिने तालिम बुधवार सकिएको छ ।
तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले सिकेको सीपलाई व्यवहारिक जीवनमा उर्तान पनि आग्रह गरे । सबैलाई रोजगारी दिन स्थानीय सरकारले नसक्ने भएकोले कम्तिमा पनि आवश्यकताका आधारमा यस्तै सीप सिकाएर अर्थोपार्जनमा सहजीकरण गर्ने काम गर्दै आएको उनले बताए । बढ्दो वेराजगार समस्या समाधानका लागि पनि यो तालिम उपयोगी हुने उनको भनाई छ ।
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले मकैका प्वाँख र थाकलबाट झोला र टोपी उत्पादन गर्ने सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयासमा पालिका लागेको बताए । ‘अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैका प्वाँख तथा थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरेको छ,ु उनले भने–‘यसले एकातिर आयआर्जनमा टेवा पुर्याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरु विदेश निर्यात हुँदा पालिकाको पहिचान पनि हुने भयो ।’ ओम राजश्री मल्टि एग्रो प्रालिले पालिकासँगको सहकार्यमा सीप सिकाउने काम गरेको उनले बताए ।
स्थानीयले उत्पादन गरेका हस्तकलाका सामग्री प्रालिले नै खरिद गर्ने जिम्मा लिएको छ । गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा तालिम गरिएको हो । तालिममा ६० जना सहभागी भएका थिए ।
लक्षित वर्ग अन्तर्गत कुमाल, वादी, खुना, मुक्त कमैया, मुक्त कमलहरी, अपांगता, द्वन्दपीडित, एकल महिला लगायतलाई प्राथमिकतामा राखेर तालिम दिइएको पनि उनले बताइन् । गाउँपालिकाका ९ वटै वडालाई लक्षित गरेर ४ ठाउँमा तालिम भएको हो ।