चिकित्सक र स्वास्थ्यकर्मीले नै हात्तीपाइलेको औषधि नखादा नेपालगञ्जमा रोग निवारणमा चुनौति

मंगलबार, वैशाख २३, २०८२

नेपालगञ्ज । चिकित्सक र स्वास्थ्यकर्मीले नै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरिदिएका कारण हात्तीपाइले रोग निवारण चुनौतिपूर्ण बनेको छ । 

ठूला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक लगायतका पढेलेखेकै वर्ग समुदायले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरिदिएका कारण नेपालमै हात्तीपाइले रोग निवारण चुनौतिपूर्ण बनेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले  राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्वन्धि गैरसरकारी संघसंस्थासँगको अन्तरक्रियामा महाशाखा प्रमुख राम बहादुर चन्दले जानेबुझेका व्यक्तिबाटै अभियानमा असहयोग भइरहेको गुनासो सुनाए । बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान चलिरहेको छ ।

६ वर्षमै अभियान सकिने भए पनि सबै मानिसहरुले औषधि नखाइदिएका कारण निवारण अभियान प्रभावित छ । बाँकेमा समुदायस्तरमै हात्तीपाइले रोगको संक्रमण रहेको परीक्षणका क्रममा पुष्टि भइसकेको छ । औषधि सेवन गर्नेले सेवन गरिरहने तर नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न सकेको छैन ।

कतिपयलाई औषधिबारे जानकारी नै नभएर, कतिपयलाई औषधिको असरको डर र कतिपय अफवाहको पछि लाग्दा खानै पर्ने औषधि नखाइदिएका कारण निवारण चुनौतिपूर्ण देखिएको चन्द बताउँछन् । नेपालगञ्जमा गएको फागुन ५ गतेदेखि १४औं चरणको औषधि सेवन अभियान चलिरहेको छ । सबैलाई औषधि खुवाउने गरी समुदायस्तरमा अभियानलाई प्रभावकारी गराउने नीतिका साथ अगाडि बढिएको उनले बताए ।

अहिलेसम्म ५३ प्रतिशतले मात्रै औषधि सेवन गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा ५० प्रतिशत भन्दा कमले औषधि खाएका छन् । हात्तीपाइले रोग निवारणका लागि औषधि सेवनको विकल्प नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक रामकुमार महत्तोले बताए।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्