सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । इङ्गल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको तेस्रो क्वार्टरफाइनल खेलमा नर्वेलाई पराजित गर्दै इङ्गल्याण्ड अन्तिम चारमा पुगेको हो ।
अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको १२० मिनेटको खेलमा इङ्गल्याण्ड २-१ ले विजयी भएको हो । इङ्गल्याण्डलाई जिताउन दुवै गोल जुड बेलिङघमले गरे ।
खेलको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेले प्रारम्भिक अग्रता लियो । एन्द्रेस सिजएल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाए ।
मध्यान्तरअघिको इन्जुरी समयको दोस्रो मिनेटमा जुड बेलिङघमले गोल गर्दै इङ्गल्याण्डलाई बराबरीमा ल्याए ।खेलको ५५ औँ मिनेटमा नर्वेको कर्नर किकमा टोर्बजोर्न हेगेमले गोल गरेका भए पनि भिडियो असिस्टेन्स रेफ्री (भीएआर) ले भने गोलअघि फाउल भएकाले गोल दिएको थिएन ।
त्यसपछि कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गयो । ९३ औँ मिनेटमा बेलिङघमले उत्कृष्ट गोल गर्दै टिमलाई २-१ ले अग्रता दिलाए ।
९९ औँ मिनेटमा इङ्गल्याण्डले पेनाल्टी पाएको भए पनि भीएआर परीक्षणमा डी बक्सभित्र कुनै फाउल नदेखाएकाले पेनाल्टी खारेज गरिएको थियो ।
योसँगै इङ्गल्याण्ड २-१ ले विजयी भयो ।
नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बने पनि इङ्गल्याण्डसँग पराजित भयो । उसले प्रिक्वार्टरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्रजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्याण्डले प्रिक्वार्टरफाइनलमा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।