मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेसो पटक विश्वकपको सेमिफाइनलमा

शुक्रबार, असार २६, २०८३

काठमाडौँ । दुई पटकको विश्वकप विजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक फिफा विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पहिलो क्वार्टरफाइनलमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले २८औँ मिनेटमा पाएको पेनाल्टी मोरक्कोका गोलरक्षक यासिन बोनोले बचाएपछि खेल बराबरीमै रहेको थियो।

दोस्रो हाफमा भने फ्रान्सले खेलमाथि पूर्ण नियन्त्रण जमायो। ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स २–० को सहज जित निकाल्न सफल भयो।

खेलभर फ्रान्सले बलमा राम्रो नियन्त्रण राख्दै मोरक्कोलाई दबाबमा राखेको थियो। मोरक्कोले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। प्रमुख आक्रमणकारीको अनुपस्थितिका कारण मोरक्कोको अग्रपंक्ति प्रभावशाली देखिन सकेन।

सन् २०१८ को विश्वकप च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्स यस जितसँगै लगातार तेस्रो विश्वकपको अन्तिम चारमा पुगेको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह