सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणमा विश्व च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट अविस्मरणीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरी क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
गए राति भएको खेलको ७९औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम १५ मिनेटभित्र तीन गोल गर्दै विश्वकप इतिहासकै स्मरणीय पुनरागमनमध्ये एक रच्यो। इजिप्टले पहिलो हाफमा इब्राहिमको हेडरमार्फत अग्रता लिएको थियो भने दोस्रो हाफमा मोस्तफा जिकोले गोल गर्दै टोलीलाई २–० को बलियो अवस्थामा पुर्याएका थिए। जिकोकै अर्को गोल भीएआरबाट फाउलका कारण रद्द भएको थियो।
तर त्यसपछि लियोनेल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले खेलको दिशा नै बदल्यो। ७९औँ मिनेटमा मेस्सीको क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै पुनरागमनको संकेत दिए।
त्यसको केही मिनेटपछि मेस्सी स्वयंले बराबरी गोल गर्दै खेल २–२ मा पुर्याए। इन्जुरी समयको चौथो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमाञ्चक ३–२ को जित दिलाए।
निर्णायक गोलअघि इजिप्टले आफ्नै पेनाल्टी क्षेत्रमा फाउल भएको भन्दै पेनाल्टीको माग गरेको थियो। तर रेफ्रीले खेल जारी राखेपछि अर्जेन्टिनाले काउन्टर आक्रमणमा गोल गर्दै खेल जित्यो। उक्त निर्णयप्रति इजिप्टका खेलाडी तथा प्रशिक्षक टोलीले खेलपछि पनि असन्तुष्टि जनाएका थिए।
खेलपछि मेस्सी भावुक देखिएका थिए। सुरुआतमै पेनाल्टी गुमाएका उनले एक गोल र एक असिस्ट गर्दै टोलीको ऐतिहासिक पुनरागमनको नेतृत्व गरे। यो जितसँगै अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ भने इजिप्टको विश्वकप यात्रा निराशाजनक ढंगले समाप्त भएको छ।
यता, आज बिहान भएको अर्को अन्तिम–१६ खेलमा स्वीट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। स्वीट्जरल्याण्डका लागि ग्रानिट साका, जेकी आम्दुनी, सेड्रिक इटेन र रुबिन भार्गासले पेनाल्टीमा गोल गरे भने मानुएल अकान्जी गोल गर्न चुके।
कोलम्बियाका लागि हुआन फर्नान्डो क्विन्टेरो, जामिन्टन काम्पाज र लुइस डियाजले गोल गरे भने डेभिन्सन सान्चेज र हुआ कामिलो हर्नान्डेज पेनाल्टीमा असफल भए।
यससँगै विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। अन्तिम आठमा नर्वे, मोरक्को, फ्रान्स, इङ्गल्याण्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्वीट्जरल्याण्डले स्थान बनाएका छन्।क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को शुक्रबार बिहान पौने २ बजे आमनेसामने हुनेछन्।