सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । एर्लिङ हालान्डको दुई गोलको प्रेरणामा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक प्रवेश गरेको छ।
विश्वकपमा चौथो सहभागिता जनाइरहेको नर्वेले पहिलो पटक अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यससँगै ब्राजिल भने सन् १९९० पछि पहिलो पटक अन्तिम १६ (प्रि(क्वाटरफाइनल) बाटै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलभर दबाबमा रहेको ब्राजिलले सुरुआतमै अग्रता लिने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। १४औँ मिनेटमा पाएको पेनाल्टी ब्रुनो गिमारेसले गोलमा परिणत गर्न नसक्दा नर्वेका गोलकिपर ओर्यान न्यालान्ड नायक बने। क्रिस्टोफर आयरको फाउलपछि भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयमार्फत ब्राजिलले पेनाल्टी पाएको थियो।
दोस्रो हाफमा नर्वेले खेलमाथि नियन्त्रण बढाउँदै अग्रता बनायो। आन्द्रेस सेलड्रुपको उत्कृष्ट पासमा हालान्डले पहिलो गोल गर्दै टोलीलाई अघि बढाए। निर्धारित समयको अन्तिम मिनेटमा पुनः सेलड्रुपकै असिस्टमा हालान्डले हेडमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे। इन्जुरी समयको नवौँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले ब्राजिलको हार टार्न सकेन।
योसँगै विश्वकपमा ब्राजिलविरुद्ध नर्वेको अपराजित यात्रा कायम रहेको छ। दुई टोलीबीच अहिलेसम्म भएका चार भेटमा नर्वेले दुई जित निकाल्दा दुई खेल बराबरीमा टुंगिएका छन्। विश्वकपमा यसअघि सन् १९९८ मा भएको भेटमा पनि नर्वेले ब्राजिललाई २–१ ले नै हराएको थियो।
ब्रुनो गिमारेस विश्वकपमा पछिल्लो चार दशकयता पेनाल्टीमा गोल गर्न असफल हुने पहिलो ब्राजिली खेलाडी बने। यसअघि सन् १९८६ मा जिकोले फ्रान्सविरुद्ध पेनाल्टी चुकाएका थिए।