विश्वकप: फ्रान्स र मोरक्को क्वार्टरफाइनलमा, पराग्वे र सह–आयोजक क्यानडा बाहिरिए

आइतबार, असार २१, २०८३

काठमाडौँ । २०२६ फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत शनिबार राति र आज बिहान सम्पन्न खेलमा मोरक्को र फ्रान्स विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आज बिहान सम्पन्न खेलमा फ्रान्सले पराग्वेलाई १–० ले हराउँदा मोरक्कोले सह–आयोजक क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्यो।

अमेरिकाको फिलाडेल्फियामा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कप्तान केलियन एमबाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो। ३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीमा खेलिएको खेलमा फ्रान्सले सुरुदेखि नै बलमाथि नियन्त्रण जमाए पनि पराग्वेको अनुशासित रक्षापंक्ति भेद्न निकै संघर्ष गर्नुपरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका युवा खेलाडी डिजायर डुएले खेलको मोड बदले। मैदान छिरेको चार मिनेटमै उनलाई पेनाल्टी क्षेत्रमा फाउल गरिएपछि भिडियो सहायक रेफ्री ९भिएआर० को समीक्षा पश्चात् फ्रान्सले पेनाल्टी पाएको थियो। त्यसको जिम्मा लिएका एमबाप्पेले सहज गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए, जुन अन्ततः जितका लागि पर्याप्त बन्यो।

यस गोलसँगै एमबाप्पेले प्रतियोगितामा आफ्नो सातौं गोल पूरा गर्दै गोल्डेन बुटको दौडमा लियोनल मेस्सीसँग बराबरी गरेका छन्।

यसैगरि अमेरिकाको ह्युस्टनमा शनिबार राति भएको पहिलो खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्‍यो। मोरक्कोका लागि अजेद्दिन उनाहीले दुई गोल गरे भने सुफियान राहिमीले इन्जुरी समयमा अर्को गोल थपे।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा क्यानडाले सुरुमै गोल गर्ने दुई उत्कृष्ट अवसर सिर्जना गरेको थियो। तर मोरक्कोका गोलरक्षक यासिन बोनोले जोनाथन डेभिड र तानी ओलुवासेयीका प्रयास विफल पार्दै टोलीलाई संकटबाट जोगाए। पहिलो हाफमा खेलाडीबीच पटक–पटक तनाव सिर्जना हुँदा रेफ्रीले सात पहेँलो कार्ड देखाएका थिए।

दोस्रो हाफको ५०औं मिनेटमा अचराफ हाकिमीको पासमा उनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। खेल सकिन आठ मिनेट बाँकी रहँदा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि मोरक्कोको जित लगभग निश्चित भएको थियो। त्यसपछि इन्जुरी समयमा राहिमीले अर्को गोल थप्दै मोरक्कोलाई ३–० को सहज जित दिलाए।

यस हारसँगै सह–आयोजक क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। मुख्य खेलाडी अल्फोन्सो डेभिस चोटका कारण मैदान उत्रन नसक्दा क्यानडाको आक्रमण कमजोर बनेको थियो। यद्यपि, यस विश्वकपमा क्यानडाले पहिलो विश्वकप अंक, पहिलो जित र पहिलो पटक नकआउट चरणमा जित हासिल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह