विश्वकप २०२६: पोर्चुगल र स्पेन अन्तिम १६ मा, क्रोएसिया बाहिरियो

शुक्रबार, असार १९, २०८३

काठमाडौँ । पोर्चुगल र स्पेन २०२६ फिफा विश्वकप फुटबलको अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा प्रवेश गरेका छन्। बुधबार सम्पन्न अन्तिम ३२ का खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ तथा स्पेनले अष्ट्रियालाई ३–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन्।

क्यानाडाको बीएमओ फिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

तर ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पाएको अवसरलाई कप्तान क्रिस्टियानो रोनाल्डोले सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो रोनाल्डोको विश्वकपमा व्यक्तिगत ११औँ गोल हो।

निर्धारित ९० मिनेटपछि थप गरिएको इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।

इन्जुरी समयको १३औँ मिनेटमा क्रोएसियाका जोस्को ग्भार्डियोलले गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड ठहर गर्दै गोललाई मान्यता दिएन। त्यससँगै क्रोएसियाको खेल बराबरीमा ल्याउने अन्तिम प्रयास असफल भयो। यो खेलमा इन्जुरी समय १७ मिनेटसम्म लम्बिएको थियो।

उता, सोफी स्टेडियममा भएको अर्को खेलमा स्पेनले अष्ट्रियामाथि ३–० को सहज जित निकाल्यो। पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्दै एकतर्फी जित दर्ता गर्यो।

स्पेनका लागि मिकेल ओयारजाबालले दुई गोल गरे भने पेड्रो पोर्रोले एक गोल थपे। स्पेनले खेलभर ६५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै १० पटक गोलका लागि प्रहार गरेको थियो। कमजोर प्रदर्शन गरेको अष्ट्रियाले भने गोलतर्फ एउटै प्रहारसमेत गर्न सकेन।
यससँगै स्पेन पनि अन्तिम १६ मा प्रवेश गरेको छ भने अष्ट्रियाको विश्वकप यात्रा अन्त्य भएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह