आयोजक अमेरिका विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा

बिहीबार, असार १८, २०८३

काठमाडौँ । अमेरिका विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिका अन्तिम १६ मा पुगेको हो । 

अमेरिकाको लेभिस स्टेडियममा भएको खेलको मध्यान्तरसम्म अमेरिकाले १–० को अग्रता लियो । खेलको ४५ औँ मिनेटमा फोलारिन बालोगनले उत्कृष्ट गोल गर्दै अमेरिकालाई १–० ले अग्रता दिलाए ।  

तर तिनै गोलकर्ता स्ट्राइकर बालोगनले मध्यान्तरपछि रातो कार्ड पाए । उनले खेलको ६१ औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिकलाई फल गरेका थिए । भीएआर माध्यमबाट हेर्दा उनलाई बालोगनले फाउल गरेको स्पष्ट देखिएपछि रातो कार्ड पाएका हुन् । 

१० जनामा समेटिएको अमेरिकाले ८२ औँ मिनेटमा अग्रतालाई दोब्बर गर्यो । मलिक टिलमनले गोल गरेका हुन् । उनले फ्रिकिक बललाई सीधै जाली चुमाएका थिए। 

बोस्नियाले दोस्रो सहभागितामा पहिलो पटक नकआउट खेलेको हो । अमेरिकाले यसपालिको सहआयोजनामा अझै अगाडि बढ्ने विश्वास लिएको छ । 

अमेरिकाले पहिलो विश्वकपमा सन् १९३० मा तेस्रो स्थान हासिल गरेको थियो भने सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो । सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेको अमेरिका सन् २०२२ मा भने नकआउट चरणमा पुगेको थियो । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०८:०७
प्रतिक्रिया दिनुहोस्